मेचीनगर, २९ भदौ । मेचीनगर–१० स्थित धुलाबारीको भानु बहुमुखी सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको छ ।
भानु बहुमुखी सहकारी संस्थाको शुक्रवार धुलाबारी स्थित राधास्वामी सभा हलमा विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोपालप्रसाद चुडालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चुडालले आर्थिक वर्षमा शेयर पूँजी, बचत संकलन, कर्जा लगानी र कर्जा असुली सन्तोषजनक रहेको दावी गरे ।
संस्थाको शेयर पूँजी २०८१ असार मसान्त सम्ममा २ करोड ५९ लाख ७८ हजार १०० रुपैयाँ पुगेको छ भने यसवर्ष ३६ लाख ८३ हजार ५०० रुपैयाँ शेयर वृद्धि भएको चुडालले जानकारी दिए ।
संस्थाको कर्जा लगानी ११ करोड ४४ लाख ४१ हजार ५०० रुपैयाँ, कर्जा असुली १० करोड ३८ लाख १८ हजार ९५ रुपैयाँ, निक्षेप संकलन २८ करोड ८० लाख २६ हजार ४८० रुपैयाँ र मनी ट्रान्सफर व्यवसायबाट आम्दानी दुई लाख ५८ हजार ४५७ रुपैयाँ रहेको छ ।
संस्थाले विभिन्न शिर्षकमा १८ लाख ७८ हजार ७३ रुपैयाँ उक्त आर्थिक वर्षमा राजस्व दाखिला गरेको छ । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ७० लाख २३ हजार ३५७ रुपैयाँ नाफा गरेको छ ।
२०५७ साल साउन ३२ गते स्थापना भएको संस्थामा २७ जना सदस्यले एक लाख ३५ हजार रुपैयाँ शेयर संकलन गरेर सुरु गरेको सहकारीले मेचीनगरमा राम्रै फड्को मारेको छ । साधारण सभामा लेखा समितिका संयोजक विश्वास भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्कीले गरेका थिए । कार्यक्रममा मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको स्वागत शंकर श्रेठले र सञ्चालन सचिव लक्ष्मी राईले गरेकी थिइन् ।
Discussion about this post