झापा, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्य तथा आन्तरिक शक्तिबाट मुलुक खतरामा रहेको बताए ।
आज बिर्तामोड स्थित सिटी सेन्टरमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
उनका अनुसार नेपालको भूरजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनैतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया छ ।
प्रचण्डले एमाले–कांग्रेसलाई आफूहरूले मूलधारमा ल्याएको बताएका छन् । ‘माओवादीलाई मूलधारमा ल्यायौं भनेर हाँस्यास्पद अभिव्यक्ति दिन्छन्,’ उनले भने–‘वास्तवमा एमाले–कांग्रेसलाई माओवादीले मूलधारमा ल्याएको हो ।’
माओवादी अन्य दलहरुको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको एजेण्डामा नगएर माओवादीको संघीयता, गणतन्त्र लगायत एजेन्डाहरूमा एमाले–कांग्रेससहित अन्य दलहरू आएकाले माओवादीलाई मूलधारमा ल्यायौं भन्नु हास्यास्पद रहेको उनको भनाई छ ।
लोकबन्धु कन्दङवा माओवादीमा प्रवेश
पुराना कम्युनिष्ट नेता लोकबन्धु कन्दङवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा नेता कन्दङवा माओवादीमा प्रवेश गरेका हुन् ।
कन्दङवाको नेतृत्वमा धेरै संख्यामा माओवादीमा प्रवेश गरेका छन् । कन्दङवा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए ।
कन्दङवासँगै एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव एवम् १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा कन्दङवाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए ।
Discussion about this post