झापा, ७ असाेज । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको चुनाव तोकिएको समयमा हुन नसकेको कारणसहित जवाफ पेश गर्न आदेश गरेको छ।
आइतबार अदालतमा दर्ता भएको रिटमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको हाे । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ।
ध्रुवप्रसाद चौँलागाईले नेपाल पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । रिटमा ६ महिनाभित्र चुनाव गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो ।
वर्तमान कार्यसमितिले तोकिएको समयमा चुनाव गराउन नसकेपछि वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग रिटमा छ।
रिटमा प्रदेश र जिल्ला अध्यक्षहरूकाे राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारवाही बारे आवश्यक निर्णय गरेर बढीमा ६ महिनाभित्र चुनाव गर्ने गरी मिति तोक्न माग गरिएको छ ।
चाैँलागाईले अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई चुनावमा सहभागी गराएर मात्रै चुनाव गराउन विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न माग गरेका छन् ।
अदालतले विपक्षीहरूलाई जवाफ मात्र पेश गर्न माग गरेकाे छ । तर, अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
Discussion about this post