झापा, ७ असाेज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ जना समर्थकलाई प्रहरीले साेधपुछका लागि नियन्त्रणमा लिएकाे छ ।
प्रसाईकाे राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई आइतबार राति ९ वजे प्रहरीले नियन्त्रणमा लिएको हाे ।
व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरोधमा बन्द आव्हान गरिएको भए पनि सवारीका साधन चलिरहेका छन् । बन्दका क्रममा उनका समर्थकहरूले आज विहानकाे राति १ वजे २ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् ।
उनीहरूले बिर्तामोडमा यूपी-५७ एटी-४४९३ नम्बरको मालवाहक ट्रक र धाइजनमा डब्लूबी-७३-ई-३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आधा दर्जन मोटरसाइकलमा आएका प्रसाईका समर्थकहरूले ईटाकाे भट्टामा चाहिने कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हुन् ।
मेडिकल व्यवसायी प्रसाईलाई प्रहरीले आइतबार भक्तपुरकाे घरबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईकाे रिहाइको माग राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका छन् ।
झापामा हिजाे राति पक्राउ परेका २ जनालाई साेधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी कृष्णकुमार चन्दले बताए ।
ट्रकमा आगजनी गर्नेहरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ ।
Discussion about this post