झापा, ६ असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सिंगो देश झापाली एमालेले चलाइरहेको बताएका छन् ।
आज कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
नेता सिटौलाले कम्युनिष्टहरुले देश बनाउन नसक्ने बताए । देश बनाउने बाटोको अगुवाइ कांग्रेसले बाहेक अरुले गर्न नसक्ने ठोकुवा गरे ।
उनले भने, ‘देश बनाउने कांग्रेसले नै हो । झापाका प्रधानमन्त्री एमालेको हुनुहुन्छ । सभामुख र मुख्यमन्त्री एमालेको हुनुहुन्छ । भौतिक पूर्वाधारमन्त्री पनि एमालेको हुनुहुन्छ । हाम्रो पार्टीको पावर भनेको महामन्त्री संगठनको हिसावले हुनुहुन्छ । हाम्रो एउटा प्रदेशको राज्यमन्त्री बन्नु भएको छ । झट्ट हेर्दा त देशकै पावर त झापामा एमालेसँग छ ।’
नेता सिटौलाले कांग्रेसले सरकार चलाउने सन्दर्भमा एमाले र माओवादी जोसँग सहकार्य गरेपनि कम्युनिस्टहरुको बाटोबाट देश नबन्ने बताए ।
उनले झापामा पनि कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँगै रहेको र आउने चुनावमा एमालेलाई चुनौति दिनेगरी कांग्रेसले योजना बनाउनु पर्नेमा जोड दिए ।
Discussion about this post