बिर्तामोड, १९ मंसिर । यही मंसिर २९ गतेदेखि बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
मोफसलको चर्चित फुटबल क्लब झापा–११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । छोटो समयमै खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।
दस दिनपछि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताका लागि मैदानको झार छाँटेर रंगशालालाई पुरानै अवस्थामा पु¥याइएको छ । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट र आकर्षक मानिन्छ ।
झापा–११ ले आफ्नो ‘होम ग्राउन्ड’ मा आयोजना गर्ने प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले छोटो समयमा काम सुरु गरेको हो ।
झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले यसअघि २०७२ सालमा झापा गोल्डकपको सुरुवात गरेको थियो ।
प्रतियोगितामा एक विभागीय, ए डिभिजन, मोफसलका चर्चित टिम र भारतका दुई वा तीनसहित १० वटा टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।
Discussion about this post