बिर्तामोड, १९ मंसिर । बिर्तामोड नगरपालिका- ७ मा ‘एक घर एक वत्ती` अभियान सुरु गरिएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ‘एक घर एक वत्ती` अभियान सुरु गरीएको हो ।
यस वडामा २४ वटा टोल छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, श्रीजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक वत्ती जडान गरिएको वडा नम्बर ७ का वडाध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिए ।
उनले यो अभियानलाई प्राथमिकताका साथअघि बढाईने दावी गरे । उनले अहिले वत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरिने बताए । नगरपालिकाको सहयोगमा वडा कार्यालयले वत्ती जडान गरेको हो ।
´घर-घरबाटै लाइन टाँगेर जडान गरिने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्छ` खरेलले भने-´ यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुनेछ । जडान गरिएको वत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।`
हाल टोल-टोलमा पुराना जोडिएका वत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । जडान गरिरहेका वत्तीहरुको खर्चप्रति एलइडी बल्ब १५ सयदेखि ३ हजार रूपैयाँ सम्मकाे रहेको वडाध्यक्ष खरेलले बताए ।
Discussion about this post