बिर्तामोड, ५ पुस । बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजदेखि पहिचान, परिचय पत्र र स्वास्थ्य शिविर सुरु भएको छ ।
बिर्तामोड–६ को कार्यालयमा शुक्रबार स्थानीय अपाङ्गता समन्वय समितिका संयोजक समेत रहेका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उपमेयर संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट फाइदा लिन सबैलाई आग्रह गरे ।
कम्तिमा ६ देखि ९ महिनामा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उनले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिए ।
शिविरमा आउन नसक्नेहरुका लागि घरैमा पुगेर भएपनि सेवा दिने उनले बताए । वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले यसअघि अपाङ्गता परिचयपत्र मात्रै वितरण गरेको भएपनि यो शिविर प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे । आजदेखि सुरु भएको शिविर पुस १४ गतेसम्म सञ्चालन हुने छ ।
तालिका अनुसार पुस ६ गते १ नम्बर वडा कार्यालय, ७ गते वडा नम्बर २ को वीर अमरसिंह माध्यमिक विद्यालय, ८ गते ८ नम्बर वडा कार्यालय, ९ गते वडा नम्बर ९ को शहिद लक्ष्मी प्रा.वि, १० गते वडा नम्बर १०को वडा कार्यालय, ११ गते वडा नम्बर ४ को पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय, १२ गते वडा नम्बर ५ को देवी माध्यमिक विद्यालय, १३ गते वडा नम्बर ७ को जनता प्रा.वि र १४ गते वडा नम्बर ३ को महेन्द्र रत्न माध्यमिक विद्यालयमा शिविर सञ्चालन हुने छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विर्तामोड नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सञ्चालित अपाङ्ग रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणसंगै आवश्यकता पहिचान र परिचय–पत्र वितरण गरिनेछ ।
आज भएको स्वास्थ्य शिविरमा ६३ जनाले सेवा लिएका छन् । जसमध्ये १३ जनाले नयाँ अपाङ्गताको परिचय पत्र समेत प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post