मेचीनगर, ७ पुस । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम धमाधम भइरहेको छ ।
यही पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ७ नम्बर वडामा सम्पन्न भएको छ । भोलि वडा नम्बर ८ मा छ ।
पुस १५ गतेसम्म मेचीनगरको पन्ध्रै वटा वडामा दिनै कार्यक्रम सञ्चालन हुने छ । वडा नम्बर १, २, ३, ४ , ५, ६ र ७ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ८ वटा वडामा कार्यक्रम बाँकी छ । अहिलेसम्म करिव एक हजार जनाले सो सेवा लिइसकेका छन् ।
वडा नम्बर ७ मा अपाङ्गता भएका २०३ जना व्यक्तिहरु मध्ये १४८ जनाले स्वास्थ्य परिक्षण गरि अपाङ्गता पहिचान र परिचय पत्र लिएको वडाध्यक्ष प्रलादमणि ओलीले जानकारी दिए ।
उनका अनुसार ५३ जना आउन सकेनन् । नयाँ १० जना आए । रातो कार्ड लिएका मध्ये ३ जनाको स्वास्थ्य सुधार भएर निलो कार्डमा झरेका छन् । आज शिविरमा आउन नसक्ने २ जनालाई घरैमा सवस्थ्य सेवा प्रदान गरिएको ओलीले बताए ।
वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला विकास अधिृकृत जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायत ५६ जना डाक्टरसहित कर्मचारीको टिम शिविरमा खटिएका छन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।
Discussion about this post