झापा, ७ पुस । बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एकजना महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले शनिवार मध्यराति ११ः३० बजे २९ वर्षीया दुर्गा धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट ४ केजी गाँजा, तीन लाख ६ हजार ८७० नेपाली रुपैयाँ र दुई हजार ३०० भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले बताए ।
लागू औषधको कारोवार भइरहेको सूचना पाएर प्रहरी टोली धिमालको घरमा पुगेको थियो । लागू औषधको कारोवार गरेको आरोपमा पक्राउ परेकी धिमाललाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको चन्दले बताए ।
गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा समेत बरामद गरिएको प्रहरीको भनाई छ ।
Discussion about this post