बिर्तामोड, १७ पुस । कोशी प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पत्रकारहरुले कलम चलाउँदा स्वतन्त्र भए चलाउन आग्रह गरेका छन् ।
आज बिर्तामोड स्थित एनएमसी कार्यालयको भवनको सभाहलमा साझामञ्च मिडिया प्रालिको १२ औँ स्थापना दिवस तथा आठौँ र नवौँ बार्षीक साधारण सभाको उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् ।
उनले पत्रकारहरु जुनसुकै विचारधाराको भएपनि कलम चलाउँदा चाहिँ स्वतन्त्र र सहि सूचना संप्रेशण गर्न आग्रह गरे ।
‘कानून नबनेका कारण भ्रष्टाचार मौलाएको छ’, मन्त्री कार्कीले भने–‘त्यो रोक्न कानून बनाउन आवश्यक छ । गलत कुराको पत्रकारले भण्डाफोर गर्नुपर्छ । सही र गलत कुरा के हो पत्रकारले छुट्टाउन पर्छ ।’
उनले सहकारीमा कालो धनलाई लुकाएका कारण अध्यादेश मार्फत सहकारी सम्बन्धि कानून संशोधन गरिएको दावी गरे ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई संसारमा मिडिया आवश्यक रहेको बताइन् ।
‘अहिले मिडियाको जमाना छ’, मेयर प्रसाईले भनिन्–‘यसलाई सही सदुपयोग गर्दा राम्रो हुन्छ । तर, केहिले यसलाई दुरुपयोग गर्ने कोशिस गरेका छन् । बजेटले भ्याएसम्म मिडियालाई सहयोग गरिने छ ।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
३ जना पत्रकारलाई ‘साझामञ्च दशक सेवा सम्मान’
सोही अवसरमा प्रालिले ‘साझामञ्च दशक सेवा सम्मान’ ‘साझामञ्च दशक सेवा सम्मान’बाट तीनजना पत्रकार सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा पत्रकार सरोज भट्टराई, उमानाथ भण्डारी र द्रोण अधिकारी रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि एवम् साझामञ्च मिडिया प्रालिका अध्यक्ष मन्त्री कार्कीले नगद ११ हजार १११ रुपैयाँको चेक र कदर पत्रसहित सम्मान गरेका थिए ।
त्यसैगरी यही मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट विजयी हुने केन्द्रीय परिषद् सदस्य, कोशी प्रदेश परिषद् सदस्य, कोशी प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिलाई सम्मान गरेको छ ।
साझामञ्च मिडिया प्रालिका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक समिति सदस्य सुवास भट्टराईले र सञ्चालन कार्यकारी प्रमुख एवम् साझामञ्च अनलाइन डटकमका सम्पादक गोपाल काफ्लेले गरेका थिए ।
अध्यक्षमा पुनः कार्की
यसैबीच प्रालिले नयाँ समिति पनि सर्वसम्मत चयन गरेको छ ।
प्रालिको वार्षिक साधारण सभाको बन्दसत्रले तीन वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः एकराज कार्की, उपाध्यक्षमा खड्गप्रसाद दाहाल, सचिवमा गोपाल काफ्ले तथा सञ्चालक समिति सदस्यहरुमा नारायणप्रसाद पोखरेल, कृष्णप्रसाद घिमिरे र पुण्यप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षमा पुनः सर्वसम्मत चयन भएका कार्की कोशी प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जा मन्त्री हुन् ।
Discussion about this post