मेचीनगर, २२ पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघिय सांसद विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने बताएका छन् ।
आज सांसद शर्मालाई चिया सरोकारवालाहरु रहेको प्रादेशिक चिया समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै सांसद शर्माले समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रादेशिक चिया समन्वय समितिका सदस्य तथा नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले मुलुक संघीयतामा गएपनि चिया क्षेत्रमा संघीयता कार्यान्वयन नभएको बताए । उनले ९८ प्रतिशत चिया क्षेत्र कोशी प्रदेशमा भएपनि प्रदेश सरकारले चिया क्षेत्रका लागि अहिलेसम्म कुनै निकाय र कानुन नबानाउनु विडम्बना भएको गुनासो सुनाए ।
नेपालमा चिया रोपण भएको १ सय ६१ वर्ष पुग्दा समेत चिया ऐन निर्माण नभएको सांसद शर्मालाई अवगत गराइएको थियो । ५ अर्ब विदेशी मुद्रासहित वार्षिक करिब १३ अर्ब बढीको आर्थिक कारोबार हुने चिया क्षेत्र ऐन कानुनको अभावमा व्यवस्थित गर्न नसकिएको सरोकारवालाको भनाई छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले ऐन कानुनको अभावमा चिया क्षेत्रले गैरकृषि अवरोधहरु भोग्नु परिरहेको बताए । चिया कोशी प्रदेशको प्रमुख आर्थिक क्षेत्र भएपनि तीनै तहको बेवास्तामा परेको दुखेसो गरे ।
उनले संघ र प्रदेश सरकारको सहकार्य र समन्वय हुन नसक्दा चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको २ करोड ६५ लाख रुपैयाँ खर्च गर्न कठिनाई भइरहेको जानकारी गराए । उनले प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्ने अवस्था सिर्जना गरिदिन समेत आग्रह गरे ।
सरोकारवालाले चिया खेतीमा सिंचाइका लागि लगाइएको चर्को विद्युत महसुल र डिमाण्ड चार्ज खारेज गरी कृषि सिंचाइको सुविधास्वरुप सहुलियत महसुलको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिए ।
चिया सरोकारवालाहरुको कुरा सुनिसकेपछि सांसद शर्माले कार्यक्रमकै वीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई फोन गरेर चिया क्षेत्रका समस्या सम्वोधन गर्न आग्रह गरे । उनले दुवै मन्त्रीलाई झापा भ्रमणमा आई सरोकारवालासँग छलफल गरी समस्या समाधानमा अघि बढ्न पनि आग्रह गरेका थिए ।
झापामा दश हजार हेक्टर क्षेत्रफलमा २५ विघामाथिका १५७ वटा चिया बगान, १७ हजार कृषक र ६५ हजार मजदुरले रोजगारी गरिरहेका छन् ।
चिया उत्पादक कृष्णप्रसाद प्रसाईसहितका सरोकारवालाहरुले विभिन्न समस्या अवगत गराएका थिए । कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, महासमिति सदस्य राम कट्टेल, क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, चिया समन्वय समितिका सदस्य तथा श्रमिक नेता दीपक तामाङ, नेपाल चिया उत्पादक संघ तथा चिया सहकारी तथा किसानका प्रतिनिधि, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कर्मचारी, संवाद समूह सचिवालय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले गरेका थिए ।
Discussion about this post