बिर्तामोड २२ पुस । जिल्ला अदालत झापाले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन आदेश दिएको छ ।
आज जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीले उनलाई घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंसिर २४ गते पक्राउ गरेको थियो ।
एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय झापाले अदालतमा मुलुकी अपराध संहिता अन्तरगतको जबरजस्ती करणी सम्बन्धी कसुर र बालबालिका ऐन विपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी तामाङले बताइन् ।
उनले भनिन्, ‘त्यही अनुसार स्वास्थ्य उपचारका लागि उहाँलाई बीएन्डसी अस्पताल पठाइएको छ ।’
Discussion about this post