बुद्वशान्ति, २५ पुस । करिव एक वर्षअघि मेचीनगर-१५ स्थित ज्यामिरगढीमा हराएका सांसद आज बुद्वशान्तिमा भेटिएका छन् ।
एक वर्षअघि ज्यामिरगढीका युवाहरुले आफ्नो क्षेत्रको झोलुङ्गे पुल नबनेको भन्दै व्याङ्ग गर्दैसांसद विश्वप्रकाश शर्मालाई सांसद हराएको सूचना भनेर व्यानर र प्लेकार्डमा लेखेर विरोध गरेका थिए ।
विहीबार नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं.१ का संघीय सांसद शर्माले बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई नदीमा नवनिर्मित ‘झोलुङ्गे पुल’को उद्घाटन गरे ।
बुद्धशान्ति–६ र ७ जोड्ने उक्त पुल ४७७ मिटर लामो रहेको छ । यो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा लामो र नेपालकै तेस्रो लामो झोलुङ्गे पुल भएको दावी छ ।
संघीय सरकारको पाँच करोड ९८ लाख ७६१ को लागतमा थानी जगदम्बा जेभीले पुलको निर्माण सम्पन्न गरेको हो ।
उक्त पुलको सांसद शर्माले २०८१ असार २४ गते शिलान्याश गरेका थिए । पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको थियो ।
महामन्त्री शर्माले बुद्धशान्ति, झापा र इलामको कृषि उत्पादनको विक्री वितरणका लागि पुल निर्माणले सहज भएको बताए । विगतमा पुल नहुँदा नागरिकलाई आवत–जावतमा समस्या थियो ।
सांसद शर्माले भने ‘म कतै पनि हराएको छैन । ज्यामिरगढीको पुल प्राविधिक कारणले गर्दा ढिलो भयो । तर, त्यो पुल पनि पुरा हुन्छ । मिडिया र केहि साथिहरुले बुद्वशान्तिको झोलुङ्गे पुल ठेकेदारले छिटो बनायो भन्ने तर, सांसद शर्माको पहलमा भएको भन्ने देखेनन् ।’
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले झोलुङ्गे पुल निर्माणले नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको दावी गरे ।
Discussion about this post