मेचीनगर, २७ पुस । काँकरभिट्टा कै इतिहास बोकेको महेन्द्रद्वार सहकारी पछिल्लो समय टाटपल्टेपछि अहिले जसोतसो बाँमे सर्दै गरेको अवस्था छ ।
२०३४ सालमा श्री महेन्द्रद्वार साझा संस्थाको रुपमा स्थापना भएको सहकारीले ०८१ पुस २५ गते ३५ औँ वार्षिक साधारण सभा गरेको छ । ४७ वर्ष पुगेको छ ।
अहिले पनि संस्थाको स्वामित्वमा रहेको जग्गा, भवन, सवारी साधान, कार्यालय उपकरण, प्रशोधन भवन गरी कुल १३ करोड ३७ लाख ४८ हजार ४०१ रुपैयाँको सम्पत्ति रहेको छ ।
आ.व.२०८०÷०८१ सम्मा संस्थाको शेयर पुँजी ८ करोड ९० लाख ६६८ रुपैयाँ, कोष हिसाव र स्थिर सम्पत्तिकाो पूर्न मुल्याङ्कन कोषमा जम्मा १० करोड ३० लाख ५८ हजार ११० रुपैयाँ छ ।
संस्थाको धरौटी हिसावमा जग्गा खरिद गर्न र अन्य भुक्तानी दिनु पर्नेजम्मा १ करोड ६४ लाख ५३ हजार ७४३ रुपैयाँ र लगानीमा ४५ लाख ९७ हजार २११ रुपैयाँ छ । संस्थाले ‘श्रममा सदस्य, सदस्यसँग सहकारी’ भन्ने नाराका साथ सञ्चालन गरेको औषधिजन्य वनस्पती खेती तथा प्रशोधन कार्यक्रम प्रभावकारी बनाउन मेचीनगर–४ मा सिट्रोनेला र लेमनग्रास खेती भौगोलिक कारणले उत्पादन नभएपछि अन्त सारिएको छ ।
उक्त खेती गर्न मेचीनगर–५ को ८ विघा १० कठ्ठा जग्गा वार्षिक ५० हजार दिने गरी भाडामा लिएको छ । जसमध्ये २ विघा क्षेत्रफलमा सिट्रोनेला खेती गरिएको छ । बाँकी ६ विघा १० कठ्ठा जग्गामा उक्त खेती लाउने तयारी गरिएको छ ।
संस्थाले मेचीनगर–८ मा रहेको आफ्नै ६ कठ्ठा १३ धुर जग्गामा तेजपत्ता, सिट्रोनेला, लेमनग्रास, मसला, लगायतका जडीबुट्टीहरुबाट तेल प्रशोधन गर्ने उदेश्यले सनराइज हर्वल उद्योग सञ्चालन गरेको थियो ।
उक्त जग्गा शेयर सदस्यको बचत रकम फिर्ता गर्नका लागि १ करोड ९ लाख ८६ हजार ४६५ र विभिन्न व्यक्तिहरुलाई जग्गा बिक्री गरी लिलामी प्रक्रियाबाट प्राप्त भएको रकम १ करोड १० लाख १३ हजार ५३५ रुपैयाँ गरी कुल २ करोड २० लाख रुपैयाँ बचत कर्तालाई फिर्ता गरिएको छ ।
संस्थामा राजकुमार दाहाल (राजु) नेतृत्वको टिम आएपछि २ करोड ९७ लाख बचत फिर्ता गर्न बाँकी र २ करोड ३८ लाख घाटा रहेको थियो । अध्यक्ष दाहालको प्रतिवेदनमा अहिले २ करोड ५० लाख बचत कर्तालाई फिर्ता गर्न बाँकी छ भने पुरानो १ करोड बचत फिर्ता दिन उल्लेख छ । नजिकैको सहकारीसँग एकीकरण गर्ने उदेश्यले आधुनिक बचत तथा ऋण सहकारीसँग कुरा चल्यो । प्रक्रिया अघि बढाउन आधुनिकसँग संस्थाले २५ लाख सापटी लिएको थियो ।
हाल बचत कर्ताको रकम फिर्ता गर्न संस्थाको मुख्य कार्यालयको छेउको करिव १३ धुर जग्गा बिक्री गर्ने तयारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्था परिसरमा रहेको नयाँ भवनमा होटल भाडामा चलाउन भद्रपुरका सन्तोष शर्मा बन्जाडेलाई मासिक १ लाख १० हजारमा दिएको थियो । तर, होटल चलाउन नसकेपछि ४० लाख जति रकम बन्जाडेले तिर्न बाँकी रहेको छ ।
भर्खरै सम्पन्न निर्वाचनबाट दाहालकै नेतृत्वमा नयाँ सञ्चालक समिति चयन भएको छ । दाहाल यो समेत गरी तीन कार्यकाल लगातार अध्यक्ष भएर काम गरिरहेका छन् ।
समितिको उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा खगेन्द्र रामुदामु, शिवशंकर शाह, हरिवबहादुर वस्नेत, मनमाया भुजेल, सुन्दरी श्रेष्ठ, मनबहादुर मगर, प्रकाश ढुंगाना, युवराज पौडेल, कमला चापागाई पोखरेल रहेका छन् । उपाध्यक्षमा तीर्थराज नेपालले दावी छाडेपछि ओली सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा रविन राउत तथा सदस्यहरुमा यज्ञराज गुरुङ र शसी राई छन् । सर्वसम्मत चयन गराउने निर्वाचन समिति संयोजकमा वीपी भट्टराई तथा सदस्यहरु माधवलाल अर्याल, रोहितकुमार बुढाथोकी, सन्तोष आचार्य र विशालकृष्ण बाँस्तोला रहेका थिए ।
साधारण सभाका अधिकांश वक्ताहरुले राष्ट्रिय पुरस्कार पाउन सफल इतिहास बनाएको सहकारी अहिले तङ्ग्रीएको छैन, सुस्त गतिमा चलिरहेको छ ।
सहकारीमा मकै बेचेर जम्मा गरेको पैसा नपाएर क्यान्सर र मिग्रौलाको डायलासिस गरिरहेका विरामी शेयर सदस्यहरुको बचत रकम फिर्ता गराउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।
स्थानीय ज्येष्ठ नागरिक दुर्गादेवी ढकालले उद्घाटन गरेकी कार्यक्रममा नगर समन्वय सहकारी संयोजक वीपी भट्टराई, समाजसेवी डिल्लीराम घिमिरे, बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ लगायतले धिमागतिमा चलिरहेको संस्थालाई तङ्ग्रेयाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा रिडर्स अभियान नेपाल झापाको हालै सम्पन्न रिडर्स फेस्टिबलमा उत्कृष्ट भएका विद्यार्थीहरु र नेपाल जेसीजले वर्ष २०२४ मा देशभरिबाट उत्कृष्ट हुन सफल बाहुनडाँगी जेसीजलाई पनि सम्मान गरेको थियो ।
लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रमेश दहालले प्रस्तुत गरेका थिए । महेन्द्रद्वार सहकारीका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष युद्वराज ओलीले र सञ्चालन सदस्य मनमाया भुजेलले गरेकी थिइन् ।
संस्थाको गौरवमय इतिहासलाई सुनौलो पानामा लेख्न सबैको साथ र सहयोग पाएमा सफल बनाउन हरप्रयास कोशिस गर्ने अध्यक्ष दाहालको अठोट रहेको छ ।
।। अर्जुन कार्की ।।
Discussion about this post