बाहुनडाँगी, २९ पुस । हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा आजदेखि दिनसम्म ‘तेस्रो अन्तराष्ट्रिय तरुल उत्सव’ सुरु भएको छ ।
सोमबारदेखि माघ २ गतेसम्म सञ्चालन हुने बाहुनडाँगीमा ‘तरुल उत्सव’ को कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले हात्तीको मूर्तिलाई गणेश भगवानको रुपमा धुप पूजा गरेर उद्घाटन गरेका हुन् ।
उनले हात्ती प्रभावित क्षेत्र भएपनि यस्ता उत्सवले बाहुनडाँगीलाई गुल्जार बनाउन लाग्नु भएकोमा आयोजक मेचीनगर नगरपालिकालाई धन्यवाद दिएका छन् ।
बिर्तामोडले गर्दा शनिश्चरे बजारको सातो गएजस्तो काँकरभिट्टाका कारण बाहुनडाँगी बजारको पनि सातो गएको उनको दावी छ ।
बाहुनडाँगीलाई हात्तीमैत्री बनाएर पर्यटनसँग जोडेर विकासका लागि प्रदेश सरकार लागि परेको बताए ।
‘प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेका छौँ’, मन्त्री रानाले भने–‘बैशाख १ गते तीनजुरे मिल्के भन्ने गुँरास फुल्ने ठाउँबाट पर्यटन वर्ष सुरु गरिने छ । कोशीका ९० वटा पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न लाग्ने छौँ ।’
कार्यक्रममा मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीले पर्यटनको हव बनाउन छिमेकी देशहरुसँग सहकार्य गरेरअघि बढ्ने गरिको मेचीनगरले तयारी गरेको बताइन् ।
भारतका पर्यटन विज्ञ सुप्रितम राजबशुले हात्तीमैत्री ब्राण्डलाई पर्यटन मानचित्रमा राख्न तरुल उत्सव प्रभावकारी रहने बताए । भारतका पर्यटन अभियन्ता विश्वदिप शाहले इस्टन नेपाललाई टुरिजममा प्रमोट गर्न हाम्रो तर्फबाट प्रयास गरिने बताए ।
नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीले अर्गानिक तरुल उत्सवले अहिले आहारविहार र खानपिनलाई ध्यानदिन जरुरी रहेको बताए ।
कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले तेस्रो अन्तराष्ट्रिय तरुल उत्सव लगाउनुका कारण बारे प्रष्ट पारेका थिए ।
उनले बजार पाइने विषादी तरकारी, चाउचाउ, कोकोकला भन्दा ग्रामिण क्षेत्रमा उत्पादन भएका अर्गानिक खानेकुरालाई प्रर्वद्धन गर्न उत्सव आयोजना गरिएको बताए । गतवर्षको तरुल उत्सवमा २० लाखको कारोवार भएको उनले बताए ।
सोही अवसरमा विद्यालयका बालबालिकाका लागि हात्ती सम्बन्धी जानकारीमुलक पुस्तक समेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा काँकरभिट्टा पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेलले पर्यटन सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
साँझ द गुर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष, फोक्सटन सिटीका पूर्व काउन्सिलर तथा गायक धनकिरण गुरुङका सांगातिक प्रस्तुति रहने छ । त्यस्तै गन्धर्वहरुको गीत तथा अन्य नित्यहरु पनि रहने छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्ष्तामा सम्पन्न उद्घाटन सत्रको स्वागत काँकरभिट्टा पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले र सञ्चालन ग्रिन जेनेरेशन झापाका महासचिव मञ्जिल देवनले गरेका थिए ।
Discussion about this post