मेचीनगर, १ माघ । मेची उद्योग बाणिज्य संघले वेलायतको केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शसँग भगेनी सम्बन्ध राख्न प्रस्ताव गरेको छ ।
आज संघ र केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शका अध्यक्ष रे जोसोनकाबीच भगेनी सम्बन्ध राख्न प्रस्तावसहितको सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) र केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शका अध्यक्ष रे जोसोनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भगेनी सम्बन्धका लागि संघले प्रस्ताव गरेको सम्झौता पत्रमा व्यवसायिक लगानी र व्यापारका अनुभव आदान प्रदान गर्ने, प्रशिक्षणमार्फत क्षमता अभिवृद्वि गर्ने, दुवै संघबीच आ–आफ्नो उत्पादनहरुलाई एकअर्काको मुलुकमा स्थापित गराउन पहल गर्ने, समय अनुकुल पारेर दुवै संघबीच भ्रमण गरी प्रत्यक्ष अनुभव लिने–दिने, सम्झौता पत्र लागू भएपछि ३ वर्ष सम्म कायम रहने र त्यसपछि दुवै संघको सहमतिमा नविकरण गर्न सकिने, व्यापार व्यवसाय प्रर्वद्धन गर्न पर्यटनसँग जोडेर सहकार्य गर्ने लगायत रहेका छन् ।
कार्यक्रममा केन्ट इन्भिक्टा चेम्बर अफ कमर्शका अध्यक्ष रे जोसोनले भगेनी सम्बन्धको प्रस्ताव स्वीकार गरेका छन् । उनले बेलायत फर्केपछि वोर्डको वैठकमा उक्त प्रस्ताव राखेर निर्णय गरेपछि जानकारी गराउने बताए ।
‘उहाँको संघमा ७० हजार व्यवसायहरु सदस्य रहेका छन्’, जोनसोनले भने–‘धेरैवटा देशसँग सहकार्य गरेर व्यापार गरिरहेका छौँ । तपाईहरु जसरी भारतसँग नजिक भएर व्यापार गरिरहनु भएको छ । अब वेलायतसँग पनि जोडिनु पर्छ ।’
कार्यक्रममा द गुर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष, फोक्सटन सिटीका पूर्व काउन्सिलर एवम् गायक धनकिरण गुरुङले दुवै संघको सहकार्यका लागि सक्दो पुलको काम गरिदिने बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष पन्नलाल जैन, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङ लगायतले सहकार्यका लागि हातेमालो भएरअघि बढे व्यापार प्रर्वद्धनमा मद्दत पुग्ने बताए ।
मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष क्षेत्रीले अध्यक्षता गरेको कार्यक्रममा उनले संघ वेलायतसँग व्यापार व्यावसायको क्षेत्रमा विकासका लागि जोडिन खोजेको बताए ।
वरिष्ठ उपाध्यक्ष क्षेत्रीले मेचीनगरमा मिग्रौलाबाट पीडित भएकाहरुले डायलासीस गरिरहेकाले उनीहरुको उपचारका लागि डायलासीस मेसिन उपलब्ध गराउन माग गरेका थिए ।
यसअघि मेचीनगर नगरपालिका वेलायतको फोक्सटन सिटीसँग भगेनी सम्बन्ध रहेको छ । फण्डले कोभिड–१९ का बेला नगरमा ३१ वटा अक्सीजन सिलिण्डर, सेनिटाइजर र माक्स लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
त्यस्तै काँकरभिट्टा माविलाई ३१ वटा कम्प्युटर ल्याव सहयोग गरेको थियो । अहिले धुलाबारी माविलाई ३१ वटा कम्प्युटर ल्याव उपलब्ध गराएको छ ।
संघका उद्योग उपाध्यक्ष भूमि पौडेलले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि सचिव कमल कोइरालाले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।




Discussion about this post