हल्दिबारी, २ माघ । झापाकाे दक्षिणी क्षेत्र हल्दिबारी गाउँपालिकामा एक हजार विघामा किसानले तोरी खेती लगाएका छन् ।
गाउँपालिकाकाे ५ वटै वडामा किसानले एक हजार विघा क्षेत्रफलमा तोरी खेती गरेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले गाउँपालिका र वडा कार्यालयले अनुदानमा चार हजार ६९० किलोग्राम तोरीको बिउ वितरण गरेको बताए ।
प्रति विघा ६५० किलोग्राम तोरी उत्पादन हुने कृषि शाखाका प्रमुख छबिलाल गुरुङले अनुमान गरेका छन् ।
उनका अनुसार हल्दिबारीमा तोरी खेतीका लागि माटो समेत उपयुक्त रहेको र अहिले किसानका खेतबारीमा तोरी फुलेर पहेँलपुर भएका छन् ।
हल्दिबारी-५ का कृषक यादब नेपालले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने दावी गरे ।
अन्य बाली जस्तो झनझटिलो नहुने हुँदा केही बर्षदेखि किसानहरुको तोरी खेतीमा आकर्षण बढ्दै गएको उनकाे भनाई छ ।
गत बर्षप्रति मन ६ हजारका दरले तोरी बिक्री वितरण भएको थियो ।
यसैबीच तोरी उत्पादनसँगै हल्दिबारीमा एकता बहुउदेश्यीय सहकारी र प्रभात बहुउदेश्यीय सहकारी संस्थाले तोरीबाट तेल उत्पादन, प्रशोधन र बिक्री वितरण सुरु गरेका छन् ।
कृषकबाट ताेरी खरिद गरेर तेल उत्पादन र बिक्री वितरण गर्दै आएको एकता बहुउदेश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार व्यवसायिक प्रयोजनका लागिप्रति लिटर ३५० र खुद्राप्रति लिटर ३६० का दरले तोरीको तेल बिक्री वितरण भइरहेकाे छ ।
(श्राेत : नेत्र बिक्रम विमली)
Discussion about this post