झापा, ५ माघ । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहितको जम्बो टोली प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टिमलाई आफ्नै पुरानो घरमा स्वागत गरेका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।
२०७७ पुस ५ गते संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड–समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गरेका थिए । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका थिए ।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ र कोषाध्यक्ष कृपा भण्डारी तथा केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट चौतारीमा प्रवेश गरेका छन् ।
अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी समालिसकेका छन् । २०५० सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनले जनआस्था साप्ताहिकको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी हाल नेपाल प्रेसमा आवद्ध छन् ।
Discussion about this post