बुद्धशान्ति, १७ माघ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिर्तामोड र भद्रपुर नगरपालिका खेल्ने भएका छन् ।
आजको सेमिफाइनल खेलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि यात्रा तय गरेका हुन् ।
सेमिफाइनलमा खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
गौरादहका लागि सुरज न्यौपानेले १०९ रन र याम तिम्सिनाले २८ रन बनाएका थिए । १८० रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गरेका थिए ।
गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन । बिर्तामोडलाई जित दिलाउन महत्वपूर्ण ६६ रनको योगदान दिएका सिवान्स बजगाईं खेलको प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए ।
त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ११६ रनको ठुलो अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका फाइनल प्रवेश गरेको छ ।
पहिलो ब्याटिङ गरेको भद्रपुरले मेचीनगरसामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अंकित सुवेदीको ४८ र सिद्धार्थ कुमालको ३९ रनको मद्दतमा भद्रपुरले २०६ रनको योगफल तयारी गरेका थिए ।
मेचीनगरका लागि प्रतियोगीताकै पहिलो ह्याट्रिकसँगै एकै ओभरमा जयदेव राजवंशीले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन । २०७ रनको ठुलो लक्ष्य पछ्याएको मेचीनगर नगरपालिका १२ दशमलव एक ओभरमा अलआउट हुँदै ९० रन बनाउन सफल भयो ।
भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए । प्रतियोगिताको उपाधि खेल शनिबार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष मदन प्रसाईले बताए ।
Discussion about this post