भद्रपुर, १७ माघ । दोस्रो संस्करणको सौर्य एयर ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् ।
टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एक जनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने भएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने उनले बताए ।
यस्तै प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनल खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ ।
प्रतियोगितामा विभागीयसहित नेपालका ६ वटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एकएक टिम तथा झापा–११ र आयोजकको भद्रपुर ब्लेजर्सको सहभागिता रहने महासचिव जीवनकुमार श्रेष्ठले बताए ।
२०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुने गरी तयारीमा लागिएको ढकालले बताए ।
मेची रंगशालामा आयोजना हुने प्रतियोगिता अन्तर्गत यसअघि पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले जितेको थियो ।




Discussion about this post