बिर्तामोड, २६ माघ । अखिल नेपाल महिला संघ (अनेम संघ) को १० औँ जिल्ला सम्मेलनमा दश जना पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
आज बिर्तामोडमा अनेम संघ जिल्ला कमिटीको सम्मेलनमा पूर्व अध्यक्षहरु जसमाया गजमेर, मेनुका काफ्ले, सुमित्रा भण्डारी, शोभा कुँवार, पवित्रा निरौला खरेल, सीता पाठक, सीता बस्नेत, विष्णु खड्का, टिका घिमिरे, शारदा सापकोटालाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अनेम संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले भोट खसाल्ने र ताली पिट्न सहभागी मात्र नभएर नेतृत्व लिन महिलाहरु तयार हुनुपर्ने बताइन् ।
उनले आगामी निर्वाचनमा एक तिहाई महिलाहरुलाई नेतृत्वमा जाने तयारी गर्न समेत निर्देशन दिइन् । महिलाहरु निडर, क्षमतावान भएका कारण प्रत्यक्षमा टिकट उपलब्ध गराएर समानुपातिकमा पुरुष नै जाँदा हुने उनको भनाई छ ।
उनले नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा ५० प्रतिशत सदस्य संख्या महिलाको पुर्याउन अनेम संघलाई आग्रह गरिन् ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, नेकपा एमालेकी निर्वाचन आयोगकी सदस्य पवित्रा निरौला खरेल, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज टीका घिमिरे, केन्द्रीय लेखा आयोगकी सदस्य जगमाया गजमेर, अनेम संघकी केन्द्रीय सचिव वीणादेवी राई, प्रदेश अध्यक्ष तथा राज्यमन्त्री सिर्जना राई, लीला कट्टेल, नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ आली, मीना उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अनेम संघकी झापा अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष रेणुका डाँगीले र सञ्चालन सचिव लीला दाहालले गरेकी थिइन् ।




Discussion about this post