मेचीनगर, ३ फागुन । यही फागुन १४, १५ र १६ गते काँकरभिट्टामा रिडर्स झापाले पाँचौं संस्करणको ‘कला साहित्य उत्सव’ आयोजना गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गरेर रिडर्स झापाले उक्त जानकारी गराएको हो ।
‘कला साहित्य उत्सव’मा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतका श्रष्टाहरुको सहभागिता रहने भएको छ ।
उत्सवमा भारतको कोलकाताका अर्का अभियन्ता डा. देवल देव र नेपालका वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ लगायतको सहभागिता रहने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताए ।
उत्सवमा १२ वटा विषयमा छलफल सत्र रहने छ । ३० जना विज्ञले सम्भाषण दिने उत्सव आयोजक कमिटीले जनाएको छ । उत्सवमा १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
उत्सवलाई देही आर्ट, मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गर्ने छन् । उत्सव अवसरमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी र नाटक मञ्चन समेत गरिने छ ।
नेपाली वैज्ञानिक डा.उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ शीर्षकमा बोल्नु हुने र भारतीय पर्यावरण अभियन्ता सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा भइरहेको आन्दोलन र त्यसका उपलब्धिका बारेमा चर्चा गर्नु हुने आयोजक कमिटीका संयोजक सागर शिवाकोटीले जानकारी दिए ।
उक्त उत्सवमा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा हुने आयोजक कमिटीका सदस्य सन्दिप ओलीले बताए ।
विगतमा रिडर्स झापाले २२ वर्षमा गर्दै आएको उक्त उत्सव विभिन्न कारणले स्थगित गरेको थियो । युवाहरुको एक समूहले २०६५ सालमा स्थापना गरेको संस्थाले पठन संस्कृतिको विकास गर्ने उद्देश्य राखेको थियो ।
Discussion about this post