
।। अर्जुन कार्की ।।
भद्रपुर, ६ फागुन । ओमसाई पाथिभरा नर्सिङ कलेज भद्रपुरमा स्टाफ नर्स र फार्मेसी पढ्न पश्चिमको रोल्पा र दाङदेखिका विद्यार्थी आउन थालेका छन् ।
ओमसाई पाथिभरा हस्पिटलले नर्सिङ कलेज सञ्चालन गरेपछि स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी पढ्न टाडा टाडाबाट विद्यार्थी आउन थालेका हुन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभिटी) ले यही आर्थिक वर्षबाट कक्षा सञ्चालनका लागि अनुमति दिएसँगै अस्पतालले उक्त विषयमा कक्षा सञ्चालन गर्न थालेको अस्पलातका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) ले जानकारी दिए ।
चिकित्सक शिक्षा आयोगले विद्यार्थी कोटा निर्धारण गरिदिएसँगै यही शैक्षिक बर्ष २०८१÷८२ बाट स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने बाटो खुलेको उनले बताए ।
प्रत्येक कार्यक्रममा ४०÷४० जना विद्यार्थीको कोटा आयोगले तोकिदिएको छ । सीटीइभिटीले उक्त कलेजलाई भर्नाका लागि आवेदन दिन सकिने बताएपछि कक्षा सञ्चालन भएको थियो ।
ओमसाइ पाथिभरा हस्पिटलले नर्सिङ कलेजकी प्रिन्सिपल ज्योति भट्टराईले हाल कलेजमा स्टाफ नर्समा ४० जना र डिप्लोमा इन फार्मेसीमा ३७ जना विद्यार्थीहरुले अध्ययान गरिरहेको बताइन् ।
‘तीन वर्षे कोर्षमा एक वर्षमा ५२ हप्ता पढाई हुन्छ’, भट्टराईले भनिन्–‘सैदान्तिक र प्रयोगात्मक दुवै पढाई हुन्छ । २४ हप्ता प्रयोगात्मक नै पढाई हुने गरेको छ ।’ अस्पतालमा प्रयोगात्मकका रुपमा विरामीको डेमो राखेर विद्यार्थीले पढिरहेका छन् ।
एसईई दिएपछि ति विषयहरु पढ्न पाइने सीटीइभिटीको मापदण्ड रहेको उनको भनाई छ । हाल कलेजमा पश्चिमका विभिन्न जिल्ला, झापा र देशैभरीका विद्यार्थीहरुले अध्ययान गरिरहेको उनले बताइन् । रोल्पा र दाङका विद्यार्थीहरु पनि कलेजमा पढिरहेको उनको भनाई छ ।
एचएको कक्षा भने आगामी वर्षबाट सुरु हुने अस्पलातका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए । उनका अनुसार तीनवर्षे स्टाफ नर्स कोर्षका लागि चार लाख ७५ हजार र डिप्लोमा इन फार्मेसीमाका लागि तीन लाख ९० हजार रुपैयाँ सीटीइभिटीकले तोकेको छ ।




Discussion about this post