
मेचीनगर, ७ चैत । मेचीनगर नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय झापाले अपाङ्गता भएका २१ वर्षीय क्षितिज राईलाई आज घरैमा आएर नागरिकता प्रदान गरेको छ ।
विहीबार बेलुका मेचीनगर–३ स्थित दोकान डाडाका शारिरिक रुपमा असक्त क्षितिज राईलाई नगरपालिकाको अथक प्रयासपछि जिल्ला प्रशासन कार्यालयले घरैमा आएर नागरिकता दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मोहनलाल पनेरुले कार्यालयको डढ्डा नै ल्याएर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको रोहवरमा राईको सहीछाप गराएर नागरिकता दिइएको छ ।
क्षितिजलाई घरैमा आएर नागरिकता दिएपछि उनका मामलीका हजुरबुबाले कुमार सुब्बाले नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती र वडा नं.३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको धेरै लामो प्रयासपछि यो सम्भव भएको बताए । नातिको नागरिकता हातमा लिदै उनले आज धेरैनै खुशी लागेको बताए ।
‘अघिल्लो कार्यकालमा नै क्षितिजलाई नागरिकता दिन कोशिस गरेको थिए’, उपप्रमुख उप्रेतीले भनिन्–‘यसपटक म आफै दश पटक चन्द्रगढी धाएपछि यो सम्भव भएको हो ।’
२०६० सालमा जन्मिएका उनी एउटा मुडाको साहरामा जीवन बिताउँदै आएका छन् । उनका बुबा छोरा अपाङ्गता भएको थाहा पाएपछि बेपत्ता भएका छन् ।
आमा हाल बैदेशिक राजगारीका क्रममा कतारमा छन् । उनी मावलका हजुरबुबासँग बस्दै आएका छन् । उनलाई सानैदेखि हुर्काउने हजुरआमाको यसअघि निधन भएपछि हजुरबुबाले स्याहर सुसार गर्दै आएका छन् ।
उनी १७ वर्ष पुगेपछि नगरपालिकाले अपाङ्गताको सामाजिक सुरक्षा भत्ताको कार्ड बनाइएको थियो । तर, उनको उमेरले गर्दा बैंकको प्रक्रियामा भत्ता पाउन सकेका थिएनन् ।
यसअघि उनलाई नागरिकता दिलाउनका राजनीतिक दल, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुले सहयोग गरेका थिए । अब उनले पाउने सबै सेवा सुविधाका लागि भोलि नै प्रक्रिया सुरु गर्न परिवारलाई वडाध्यक्ष वस्नेतले आग्रह गरेका छन् ।
क्षितिजलाई नागरिकता दिलाउनका लागि सधै खवरदारी गरिरहेका छिमेकी समेत रहेका शिक्षक एवम् सञ्चारकर्मी देबु बानियाँले आजको भेटघाटको सहजीकरण गरेका थिए ।




Discussion about this post