बाहुनडाँगी, ७ चैत । गतवर्षको एसईईको पुरक परीक्षाका विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरेका १०८ युवा समूहलाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।
आज नगरप्रमुखको कार्यकक्षमा २०८० सालको एसईईको पुरक परीक्षाका विद्यार्थीहरुलाई बाहुनडाँगीमा तयारी कक्षा सञ्चालन गरेका १०८ युवा समूहका शिक्षकहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।
नगरपालिकाले निःशुल्क कक्षा सञ्चालन गरेका १०८ युवा समूहका शिक्षकहरु रोमन बिक्रम कार्की, आभिष्कार नेपाल, आशिष शिवा, युवराज सिग्देल, विवेक गौतम र थेसिस रुचाललाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
गतवर्ष एसईईमा अनुर्तिण भएका २७ जना विद्यार्थीले पुरक परीक्षाका लागि कक्षा लिएका थिए । पुरक परीक्षामा सहभागी २६ जनामा सबैले पास गरेका थिए । एकजना परीक्षामा सहभागी भएनन् । उनीहरुले जीपीए ३ दशमलव एक अंक ल्याएका थिए ।
मेचीनगर–२ स्थित ओसिनिक निर्माण बोर्डिङ स्कुल, भानु माध्यमिक विद्यालय, मेचीनगर–३ स्थित मेची जनसाधारण माध्यमिक विद्यालय र मेचीनगर–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन गरिएको थियो ।
मेचीनगर नगरपालिको वडा नं.१, २, ३ र ४ अथवा साविकको बाहुनडाँगीका सरकारी र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निःशुल्क कक्षा सञ्चालन गरिएको थियो ।
विद्यार्थीहरुलाई शिक्षक रोमन बिक्रम कार्कीले विज्ञान र गणित, आभिष्कार नेपालले गणित, आशिष शिवाले अर्थशास्त्र र लेखा, युवराज सिग्देलले गणित, विवेक गौतमले गणित र थेसिस रुचालले सामाजिक विषय पढाएका थिए । २ महिनासम्म कक्षा सञ्चालन गरिएको थियो ।
कुनैपनि स्वार्थ नराखी समाज रुपान्तरण गर्न पिछडिएका वर्गहरुका लागि निःशुल्क कक्षा सञ्चालन गरिएको शिक्षक कार्कीले बताए ।
सम्मान कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शिक्षाप्रति युवा शिक्षकहरुको नयाँ प्रकृतिको योगदानलाई उच्च सम्मान गर्ने बताए ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, कार्यपालिका सदस्य चित्रकुमार धिमाल लगायतले संयुक्तरुपमा शिक्षकहरुलाई सम्मान गरेका थिए ।
१०८ युवा समूहका शिक्षकहरुसँग नजिक रहेर सहकार्य गरिरहेका युवा समाजसेवी गणेश कार्कीले बाहुनडाँगी क्षेत्रमा भएको यस्तो कक्षा सञ्चालन मेचीनगरका विभिन्न ठाउँमा गर्न नगरपालिकाले सहयोग गर्नु पर्ने बताए । कार्यक्रमको सहजीकरण नगरप्रमुखका स्वकीय सचिव आशिष पौडेलले गरेका थिए ।




Discussion about this post