मेचीनगर, १२ चैत । भारतले नेपालमा उत्पादित प्लाइउडलाई काँकरभिट्टा नाकामा रोकेको छ ।
नेपालबाट प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारत स्थित पानीटंकी स्थित भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले जानकारी दिए ।
उक्त ट्रकहरु दुई साताअघि नै काँकरभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ बनाएर नेपाली सामानलाई रोकेको प्रसाईले बताए ।
बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बीआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्ट लगायतका उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकरभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्याइरहेको छ ।
‘नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरु पानीटंकीस्थित भारतीय भन्सारमा रोकिएका छन्,’ –प्रसाइले भने–‘न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।’
भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईले बताए । नेपाली पक्षले उक्त सामान निर्यातका लागि भारत सरकारलाई जीएसटी कर समेत तिरिसकेको जनाएका छन् ।
नेपालमा ८० वटा प्लाई उद्योग छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम् २५ करोड लगानी हुने उद्योगीहरुको भनाई छ । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौ लगानी जोखिममा पर्नेछ भने हजारौंको रोजगारी गुम्ने छ ।
आर्थिक वर्ष २०८÷८१ मा नेपालबाट सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९÷८० मा चार अर्ब ७० करोड र आव २०७८÷७९ मा ३५ करोड मूल्य बराबरको प्लाइउड भारतमा निर्यात भएको थियो ।
मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको दावी गरे ।
प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन नेपाल सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनु पर्ने तिम्सिनाको जोड छ ।
भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगहरुले कामदारहरुको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । तिम्सिनाका अनुसार विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरु हाल मुस्किलले आठ घण्टा मात्र सञ्चालन भइरहेका छन् ।
प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको संघका अध्यक्ष प्रसाइको भनाई छ ।
‘प्लाइउडको निर्यात कुनै हालतमा रोकिनु हुँदैन भनेका छौं,’ प्रसाईले भने– ‘नेपाली उद्योगहरुले बीआइएसका लागि आवेदन भरेको एकवर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ ।’




Discussion about this post