मेचीनगर, २६ चैत । काँकरभिट्टा निवासी समाजसेवी डिल्लीराम घिमिरे मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
उनी विहान चन्द्रगढी जाने क्रममा मेचीनगर–७, सतिघट्टा चोक स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् ।
ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका अनुसार विहान पाउने १२ वजे चन्द्रगढी जाने क्रममा सतिघट्टाको भित्री सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा टाउकोमा चोट लागेकोले तत्काल धुलाबारीको मेची आम्दा अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीको भनाई छ ।
मेचीनगर–७ बस्ने बर्ष ५० का गोबिन्द दाहालले चलाएको प्रदेश १–०४–००१ प ५४११ नं.को मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । चालक दाहाललाई भने केहि भएको छैन ।
घाइते घिमिरेको टाउकोमा ब्लड जमेकाले भेन्टिलेटरमा उपचार भइरहेको उनका छोरा दिपक घिमिरेले जानकारी दिए ।
उनले चन्द्रगढी गइरहेको मोटरसाइकलको पछाडी बस्नु भएको बुबा आफै एक्कासी लडेर घाइते हुनु भएको बताए ।
घाइते घिमिरे मेचीनगर नगरपालिकाको बस टर्मिनल बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अध्यक्ष, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष, तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष हुन्, नेकपा एमालेका नेता, र विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय छन् ।




Discussion about this post