काँकरभिट्टा, ३१ चैत । पर्यटन वर्ष २०८२ लाई लक्षित गरेर आजदेखि पूर्वी नाका काँकरभिट्टामा विदेशी गाडीमा सुरक्षा जाँचसहितको स्टीकर टाँस्न सुरु गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले आइतबार काँकरभिट्टा स्थित भन्सार गेटमा विदेशी गाडीमा सवारी अनुमति पत्रसहितको सुरक्षा जाँच स्टीकर टाँसेर सुरु गरेका हुन् ।
मन्त्री भण्डारीले आज पहिलो भारतीय पर्यटकको गाडीमा सवारी अनुमति पत्रसहितको स्टीकर टाँसिदिएर पर्यटन वर्ष २०८२ लाई स्वागत गरेका छन् ।
भारत लगायत विदेशी पर्यटकलाई नेपाल छिर्दा झन्झटरहित पर्यटन मैत्री बनाउन आजदेखि भन्सारमा नै यातायात कार्यालयको सेवा दिएर स्टीकर टाँसिदिएको उनले बताए ।
‘पर्यटकको गाडीमा स्टीकर देखेपछि बाटोमा प्रहरीहरुले झनझट गर्दैनन्’, मन्त्री भण्डारीले भने–‘पर्यटन वर्ष २०८२ लाई लक्षित गरेर झन्झटरहित पर्यटन मैत्री बनाएका छौँ ।’
उनले भने–‘अबको तीन महिनापछि स्टीकरमा क्युआरकोर्ड लागू हुन्छ । त्यसका लागि प्रहरीलाई मोवाइल दिइन्छ । प्रहरीले विदेशी गाडीमा स्टीकर देखेपछि मोवाइलबाट हेर्छन् । र, छाड्नेछन् । अन्य केहि वस्तु रहेको शंका लागे मात्र सोधपुछ गर्नेछन् ।’
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मन्त्री भण्डारीले स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायी लगायतहरुसँग छलफल गरेका थिए ।
छलफलमा स्थानीय व्यवसायीहरु रामबहादुर तामाङ, उदयकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, नेत्र कार्की लगायतले भारतीय पर्यटकको गाडीको ब्लुबुक, सुविधा, पाकिङको समस्या र स्थानीय पर्यटन व्यवसायीलाई पर्यटन वर्ष २०८२ को समितिमा राख्नु पर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डीएसपी राजन लामा, सशस्त्र प्रहरी गूल्मका प्रमुख डीएसपी शमशेरबहादुर कार्की, ट्राफिक पोष्ट काँकरभिट्टाका प्रमुख सई प्रमुख पूर्ण गौतम लगायतको उपस्थिति रहेको थियो ।




Discussion about this post