

गौरादह, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पताल भवनको शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले गौरादह–१ स्थित चौतु चोकमा रहेको सो अस्पताल भवनको शिलान्यास गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासी साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने बताए ।
आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताउँदै उनले सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए ।
उनले मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरे ।
दुई विघा जग्गामा अस्पताल निर्माणमा हुनेछ । १२ करोड ५९ लाख ७९ हजार ४९६ रुपैयाँ लागतमा २०८३ माघ १४ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने गरी जे एन्ड जे निर्माण सेवालाई ठेक्का दिइएको छ ।
ओलीको अघिल्लो कार्यकाल २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरिएको थियो । अस्पतालले जग्गा प्राप्त गर्न ढिलो भएकालेगौरादहमा अस्पताल निर्माण हुन सकेको थिएन ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतको उपस्थित रहेको थियो ।
हिजो झापा आएका ओली दमकको जनजागरण सभामा सहभागी भएका थिए । आज नगरअस्पताल शिलान्यासपछि ओली दिउँसो काठमाडौँ फर्किएका छन् ।




Discussion about this post