मेचीनगर, १२ बैशाख । जनताका विभिन्न खालका समस्यालाई वडाबाटै हल गर्ने उदेश्यले मेलमिलाप कर्ताहरुलाई आजदेखि दुई दिवसीय पुनःताजगी तालिम दिइएको छ ।
मेचीनगर नगरपालिकाको सभाहलमा शुक्रबारदेखि सुरु भएको पुनःताजगी तालिममा १५ वटै वडाका ८१ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।
सहभागीलाई मुख्य प्रशिक्षक झापा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्का र प्रशिक्षक प्राकृतिक श्रोत द्वन्द रुपान्तरणकी श्रोत व्यक्ति संगिता थापाले दिइरहेका छन् ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले जनताका मुद्वा न्यायिक समितिमा नआउने गरी मेलमिलापकर्ताहरुले वडामा नै भरसक मिलाउन आग्रह गरेकी थिइन् ।
‘वडाका समस्या वडाले नै समाधान गरे नगरपालिका धाइरहनु पर्दैन’, संयोजक उप्रेतीले भनिन्–‘वडाले, वडाको मेलमिलाप समितिले सकेन भने मात्र मुद्वा न्यायिक समितिमा आउने हो । भरसक वडामा नै मिलाउने कोशिस गर्नुहोस् ।’
उनले न्यायिक समितिमा आएका मुद्वाहरुको कानुनी प्रक्रियाका विषयमा जानकारी गराएकी थिइन् । नगरवासीले कुनै समस्या पर्यो भने वडाबाटै निवेदन दर्ता गर्न सक्छन् । नगरपालिकाले कार्यविधि बनाएर त्यस्को व्यवस्था गरेको छ । वडाको मेलमिलाप समितिमा नमिले मात्र न्यायिक समितिमा छलफल हुने गर्छ ।
तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेलमिलाप समितिका सदस्यहरुले जनताले ल्याएका समस्याहरु छिटो र सहज ढंगले निरुपण गर्न आग्रह गरेका थिए । उनले आगामी बजेटका बारेमा समेत जानकारी गराएका थिए ।
शनिबार सम्पन्न हुने मेलमिलाप सम्बन्धीको तालिमको आज औपचारिक उद्घाटनको अध्यक्षता न्यायिक समिति संयोजक उप्रेतीले, स्वागत न्यायिक समिति सदस्य हरि न्यौपाने र सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।




Discussion about this post