मेचीनगर, १३ वैशाख । काठमाडौँ आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटनामा परेको छ ।
काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रीबस शनिबार विहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा १६ जना शिक्षकहरु घाइते भएका छन् । घाइतेको बिर्तामोड स्थित बिर्तासिटी र बीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आन्दोलनबाट फर्किएका सबै शिक्षक रहेको घाइते मध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर छ ।
‘म ड्राइभरको सिट पछाडि नै थिएँ’, घाइते भण्डारीले भने, ‘अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो ।
एक्कासी गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकाले ।’
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।




Discussion about this post