मेचीनगर, २० जेठ । पूर्वमै शैक्षिकस्तरमा फड्को मार्दै गरेको सामुदायिक विद्यालय धुलाबारी माविको परिसरमा ‘विग स्कुल’ को भवन बन्ने भएको छ ।
कोशी प्रदेशमा नै नमूनाका रुपमा रहेको धुलाबारी मावि परिसरमा विग स्कुलको रुपमा तीन तलाको सुविधा सम्पन्न भव्य भवन निर्माण हुने भएको छ ।
आज विहान ‘विग स्कुल’ भवनको शिलान्यास मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । शिलान्यास कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायाण खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्बाङ, प्रधानाध्यापक महेन्द्रविलास लुईटेल, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ शर्मा पराजुली लगायतको उपस्थिति रहेको थियो ।
बनिन लागेको भव्य भवनका विषयमा विद्यालयका सहायक प्रधानाध्यापक तेजुप्रसाद चौलागाईले जानकारी गराएका थिए । उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत विभागले दुई हजार भन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयलाई शैक्षिकस्तर वृद्वि गर्न विग स्कुल बनाउन सहयोग गरेको छ ।
भौतिक पूर्वाधार विकासमा सहयोग पुर्याउने उदेश्यले कोशीका चार वटा विद्यालयमा थप भव्य भवन बनिदैँ छ । धुलाबारी माविसहित मोरङको सुखानी, धरानको पव्लिक स्कुल र दमकको हिमायल माविमा विग स्कुलको रुपमा सुविधा सम्पन्न भवन बनिने क्रममा रहेका छन् ।
१६ अप्रिल २०२५ अर्थात १८ महिनामा सक्ने गरी हेमाङ्ग एनडी कालिनाग जेभी बानेश्वर काठमाडौँले ३ करोड ८३ लाख ५३ हजार ४३५ रुपैयाँमा ठेक्का लिएको छ । विग स्कुलको तीन तलाको भवनको प्रत्येक तलामा ४ वटा कोठा रहनेछ । २ वटा स्मार्ट शौचालय, रंग–रोगन, फर्निचर, स्मार्ट बोर्ड लगायत हुनेछ ।
सहायक प्रधानाध्यापक चौलागाईले शिक्षा विभागको विग स्कुलको योजना अन्तरगत धुलाबारी माविलाई २८ कोठा भवनको लागि प्रस्ताव रहेको बताए । पहिलो चरणको सकेपछि फेरि अर्को भवन सुरु गरिने उनको भनाई छ ।
विद्यालयको निर्माणाधीन भवन खेल मैदानको उत्तर पट्टि रहेको छ । दक्षिण पट्टिका पुराना भवनहरु भत्काएर नयाँ भवनमा सार्ने योजना रहेको उनले जानकारी दिए ।
हाल विद्यालयमा ३२ सय बढी विद्यार्थी अध्ययनरत छन् ।




Discussion about this post