मेचीनगर, २४ जेठ । मेचीनगरका गाई–गोरुहरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको छ ।
मेचीनगर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक छत्र राईले मेचीनगरको ६ वटा वडाका किसानको गाई–गोरुमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिन थालेको जानकारी दिए ।
उनका अनुसार मेचीनगर–२, ३, ७, ८, ९ र १४ नम्बर वडाका किसानका ३ वटा गाई र ४ वटा बाँछीमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिएको छ ।
‘ती गाई र बाँछीमा अहिले सामान्य घाउ जस्तो देखिएको छ’, राईले भने–‘किसानलाई घाउमा लगाउने मलम, पेनकिलर, ज्वरो, सरसफाइका लागि फिनेल, पोटासीयम लगायतका औषधि दिइएको छ ।’
संक्रमित क्षेत्रको ५ सय मिटर आसपासका किसानका गाई–गोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाइएको पशु प्राविधिक राईको भनाई छ । राईका अनुसार शुक्रबार र शनिबार गरेर १५० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको छ ।
‘लम्फी स्किन’ रोगको संक्रमणका बारेमा कोशी प्रदेश र केन्द्रीय पशु सेवा विभागमा जानकारी गराइएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टि मिटर सम्मको गोलो गिर्खा र घाउ देखा पदर्छ । क्याप्री पक्स नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन उक्त भ्याक्सिन लगाउने गरिएको छ ।




Discussion about this post