मेचीनगर, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई देशको अभिभावक भएर बस्न आग्रह गरेका छन् ।
सोमबार धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड टेंकी निर्माणको शिलान्यास पछि सांसद समेत रहेका शर्माले २०८३ सालपछि प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीद्वय देउवा र दाहाललाई अभिभावकीय भूमिका निर्वाह गर्न सुझाएका थिए ।
‘यो दल, त्यो दल, यो गुट र त्यो गुटको होइन सिंगो राष्ट्रको अभिभावकको जरुरी छ’ उनले भने–‘अब त्यसको समाधानतिर लाग्छौँ ।’
स्वर्गीय टंकप्रसाद भट्टराईले दान दिनुभएको जग्गामा बन्न लागेको खानेपानीको टेंकीले मेचीनगर–९, १०, ११, १४ र १५ नं. वडाका केही भागहरुमा समेत खानेपानी वितरण गर्न सहज भएको छ । मेचीनगर–९ मा दश करोड ४० लाख ९९ हजार ६४७ रुपैयाँको लागतमा खानेपानी टेंकी निर्माण हुने भएको छ ।
खानेपानी समितिले खरिद गरेको दुई कठ्ठा १० धुर जग्गा र भट्टराईले दान दिएको दुई कठ्ठा १० धुर जग्गा गरी जम्मा पाँच कठ्ठा क्षेत्रफलमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड टेंकी, सुरक्षा गार्ड बस्ने घर सहितको संरचना निर्माण हुनेछ । उक्त निर्माण कार्य आगामी २०८४ मंसिर ११ गते सम्पन्न हुनेछ ।
कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्व.टंकप्रसाद भट्टराईका छोरा अनिल भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष हिमालय आङदेम्वे र सञ्चालन सचिव उमेश सुवेदीले गरेका थिए ।




Discussion about this post