अपाङ्गता शब्द सुन्नासाथ तपाईँको मन, मस्तिष्कमा कस्तो अनुभूति आउँछ ? पक्कै पनि शारीरिक रुपमा कमजोर, अंगभगं, दृष्टिविहिनता, हिडडुल गर्न नसक्ने, शरीरका अंगहरूले राम्ररी काम गर्न नसक्ने यस्तै, यस्तै । तर, तपाईँलाई थाहा छ ? शारीरिक रूपमा समस्या नभएका व्यक्तिहरूमा पनि अपाङ्गता हुन सक्छ । जसलाई मनोसामाजिक अपाङ्गता भनिन्छ ।
मनोसामाजिक अपाङ्गता भन्नाले मानसिक स्वास्थ्यसँग सम्बन्धित त्यस्ता अवस्थाहरूलाई जनाउँछ । जसले व्यक्तिको सामाजिक, भावनात्मक र व्यावहारिक कार्यक्षमतामा गम्भीर असर पार्दछ । यसले गर्दा व्यक्ति आफ्नो दैनिकी जीवन, अध्ययन, काम वा सामाजिक सम्बन्धहरु सहज रुपमा सञ्चालन गर्न सक्दैन । गम्भीर मानसिक समस्याहरू जस्तै डिप्रेसन, स्किजोफेनिया, बाइपोलर डिसअर्डर, चिन्ता सम्बन्धी विकारहरू जस्तै जेनेरलाइज्ड एन्जाइटी डिसअर्डर, व्यवहार सम्बन्धी समस्याहरू जुन दीर्घकालीन हुन्छन् र सामाजिक व्यवहारमा अवरोध ल्याउँछ ।
मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले सामाजिक भेदभाव अवहेलना पनि भोग्नु पर्दछ । उनीहरूलाई सहयोग र समावेशी सामाजिक वातावरण आवश्यक हुन्छ ताकि उनीहरूले पनि अरु समान अधिकार र अवसरको उपयोग गर्न पाउन । मानसिक स्वास्थ्य समस्याका कारण उत्पन्न हुने अवरोधहरूलाई मनोसामाजिक अपाङ्गता भनिन्छ ।
परिवारको साथ कतिको महत्वपूर्ण रहन्छ ?
व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहँदा उसको पहिलो आधार बन्नुपर्ने परिवार नै कहिलेकाहीँ असहयोगी बनिदिन्छ जसको कारणले मानसिक स्वास्थ्यका चुनौती बढ्दै जान्छन् । यस्तो अवस्थामा व्यक्ति चाहेर पनि चुनौतीहरूलाई छिचोल्दै अघि बढ्न सक्दैन ।
अपाङ्गताप्रतिको सामाजिक दृष्टिकोण कस्तो रहन्छ ?
नेपाली समाजमा मानसिक समस्या भएका व्यक्तिहरूलाई हेला तथा विभेदको दृष्टिकोणले हेरिन्छ । त्यसमाथि शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले मनोसामाजिक अपाङ्गता झेल्नु पर्दा कस्तो होला ? परिकल्पना गर्न सक्नु हुन्छ ? कल्पना गर्दा समेत कहाली लागेर आउँछ । तर, वास्तविकतालाई हेर्ने हो भने शारीरिक अपाङ्गता भएका व्यक्तिहरूमध्ये २२.६७ प्रतिशत व्यक्तिहरूमा मनोसामाजिक अपाङ्गता रहेको पाइयो ।
उक्त तथ्याङ्क मेचीनगर नगरपालिकामा सञ्चालन भएको अपाङ्गता भएका व्यक्तिहरूको पहिचान सम्बन्धी स्वास्थ्य शिविरबाट देखिएको हो । नेपाली समाजमा मानसिक समस्या भएका व्यक्तिहरूलाई हेला तथा विभेदको दृष्टिकोणले हेरिन्छ । एकातिर कमजोर शरीर अर्कोतिर मानसिक रुपमा समस्या जीवनयापन गर्न कति धेरै चुनौतीहरु छन् ।
परिवर्तनको सुरुवात घरबाटै गर्नुहोस्
शारीरिक रूपमा सबलाङ्ग र अपाङ्गता भएका व्यक्तिहरूलाई परिवार तथा समाजले हेर्ने दृष्टिकोणमा आकाश जमिनको फरक पर्छ । एकातिर परिवारका सदस्यहरुलाई अपाङ्गता भएका व्यक्तिहरूलाई दिनुपर्ने विशेष समयले गर्दा कमजोर आर्थिक अवस्था भएका परिवारलाई दैनिक रुपमा गुजारा गर्न हम्मेहम्मे पर्ने गर्दछ भने अर्कोतर्फ परिवार तथा समाजले गर्ने विभेद र लान्छना सम्झिँदा कहाली लाग्दो अवस्था रहेको छ ।
जुन व्यक्तिले आफ्नो भावनाहरू बोलेर व्यक्त गर्न सक्छन् । उनीहरुलाई मानसिक स्वास्थ्य समस्या भएको पहिचान गर्न सजिलो हुन्छ । तर, अपाङ्गता भएका व्यक्तिहरु जसमा बोल्न सक्ने क्षमता हुँदैन त्यस्ता व्यक्तिहरूलाई मानसिक स्वास्थ्य समस्याको जोखिम अझ बढी हुन्छ । साथै मानसिक स्वास्थ्य समस्याको अवस्था पहिचान गर्न अझ बढी चुनौतीहरू रहन्छन् ।
जसरी शारीरिक रुपमा सबल व्यक्तिहरूलाई समाजमा स–सम्मान जीवनयापन गर्ने अधिकार रहन्छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूमा पनि स–सम्मान जीवनयापन गर्ने, रोजगारी मा संलग्न हुने, परिवारसँग समय बिताउने अधिकार रहन्छ ।
मानिस विवेकशील प्राणी हो भन्ने गरिन्छ तर, के हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई मानवचित व्यवहार गरेका छौँ त ? यस्ता प्रश्न हामीले हामीलाई नै गर्नुपर्ने अवस्था आएको छ । व्यक्तिले देखाउने व्यवहारहरू, आनीबानीहरूमा भएको परिवर्तनलाई मात्र ख्याल गर्न सके पनि मानसिक स्वास्थ्य समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
अबको आवश्यकता र समाधानका उपायहरू
हामी सबैले यो बुझ्न जरुरी छ कि अपाङ्गता शारीरिक रुपमा मात्र देखापर्ने समस्या होइन । मनोसामाजिक अपाङ्गता अझ बढी जटिल अवस्था हो । जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन समानताको दृष्टिले हेर्छौं, उनीहरुलाई स्वीकार गर्छौं र भावनाको कदर गर्छौं तब मात्र व्यक्तिले पाउनु पर्ने नैसंर्गिक अधिकार सुनिश्चित गर्न सक्छौं ।
परिवारको साथ, समाजको जिम्मेवारी र राज्यको उत्तरदायित्व मिलेर मात्रै मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवन सुनिश्चित गर्न सकिन्छ । उनीहरूप्रति समानुभूति कायम गर्न सके हाम्रो जिम्मेवारी अवश्य पनि पूरा हुन्छ ।
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूमा पनि विभिन्न किसिमका क्षमताहरू हुन्छन् । यदि हामीले उनीहरूको क्षमता, रुचि, चाहनाहरू पहिचान गर्न सक्यौं भने पक्कै पनि आगामी दिनहरूमा समान अधिकार कायम गर्न सकिन्छ कि ?
(लेखक मिश्र मेचीनगर नगरपालिका, रेमीकी परिवार परामर्शकर्ता हुन् )
Discussion about this post