मेचीनगर, ७ साउन । मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएर हाउस वायरिङ तालिम लिएका चालिस जना युवाहरुलाई ‘टुल्स किट’ वितरण गरेको छ ।
विदेशबाट फर्किएर आएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) ले बुधबार उद्यमशीलताको सीप सिकेर हाउस वायरिङ तालिम लिएका ४४ जना युवाहरुमध्ये ४० जनालाई ‘टुल्स किट’ वितरण गरेको हो ।
४० जनामा १ जना महिला र ३९ जना पुरुषले ‘टुल्स किट’ लिएका हुन् । ‘टुल्स किट’ मा हम्बर, पलायर, कम्पलायर, नोज पलायर, वायर कटर, म्याजरिङ टेप, स्क्रुडाइभर लगायतका सामग्री रहेको छ ।
बाँझो खेतमा उत्पादन गरौँ : नगरप्रमुख बुढाथोकी
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले तालिम लिएकाहरुलाई उक्त ‘टुल्स किट’ हरु वितरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले विदेशबाट फर्किएका युवाहरुलाई यस्तो तालिमले सामान्य जीवीकोपार्जन गर्न मद्दत पुग्ने बताए ।
‘बाँझो रहेका जमिनलाई अब युवाहरुले हरियाली बनाउनु पर्छ’, बुढाथोकीले भने–‘उद्यमशीलतामा लागेकाहरुले सबै क्षेत्रमा दक्ष बन्नु पर्छ । बाँझो जग्गामा रहरीको दाल मात्र पनि उत्पादन गर्न सक्यो भने भारतबाट आयात भन्दा निर्यात गरेर आम्दानी गर्न सकिन्थ्यो ।’
नगरपालिकाबाट उद्यमशीलताको सीप लिएका ६४ जनामध्ये ४४ जनाले हाउस वायरिङको तालिम लिएका थिए । बाँकी २० जनाले बारिष्टाको तालिम लिए ।
हेवितास अन्तरगत रेमीको कार्यक्रममा ४४ जनामध्ये एन्सुयर संस्थाबाट २० जना र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरबाट २४ जना युवाहरुलाई आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट उक्त सहयोग प्रदान गरिएको थियो ।
‘टुल्स किट’ वितरण कार्यक्रमको सहजीकरण रेमीका रोजगार परामर्शकर्ता फडिन्द्र दाहालले गरेका थिए ।




Discussion about this post