इलाम, १४ साउन । भूतपूर्व विद्यार्थी डा.प्रेम फ्याकले इलामको माङसेबुङ–१ गजुरमुखी स्थित महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषका लागि एक लाख ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।
उनले आफ्ना स्वर्गीय पिता टेकवीर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम जम्मा गरिदिएका हुन् ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हरि बरालले जानकारी दिए ।
प्रधानाध्यापक बरालले डा.फ्याकप्रति आभार व्यक्त गर्दै उनको योगदानले भावी पुस्ताका विद्यार्थीहरूलाई प्रेरणा र हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए ।
विद्यालयको शैक्षिक गतिविधिमा दीर्घकालीन सहयोग पुगोस् र विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सहयोग होस् भन्ने उद्देश्यले सो रकम प्रदान गरेको डा.फ्याकको भनाई छ ।
कक्षा–६ देखि १० सम्म उक्त विद्यालयमा अध्ययन् गरेका डा.फ्याक हाल अमेरिका स्थित कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् ।
विद्यालयले २०७४ सालमा अक्षयकोष स्थापना गरेको हो । हाल अक्षयकोषमा विभिन्न दाताहरूबाट करिव ४ लाख रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ ।




Discussion about this post