

दमक, २८ साउन । सरकारले भर्खरै सामाजिक सुरक्षा कोषमा ३१ प्रतिशत भएपछि झापाका मिडिया सञ्चालक र पत्रकारहरुबीच बहस सुरु भएको छ ।
प्रेस चौतारी नेपाल झापाले बुधबार दमकमा आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा मिडिया सञ्चालक, पत्रकारहरुले सरोकारवाला निकायसँग जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख ज्ञानेन्द्रप्रसाद यादवले त्यसको बारेमा जानकारी गराएका थिए ।
प्रमुख भट्टले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उदेश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सेवा सुविधा लगायतका विषयमा प्रष्ट पारेका थिए ।
उनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलवको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने हुन्छ ।
त्यसमा आवद्ध भए वापत कोषले दुर्घटना बीमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालिन पेन्सन लगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आवद्ध हुन सक्ने छन् ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख यादवले लेखा व्यवस्थापन, कर प्रणालीका बारेमा बताए । उनले कारोवारका आधारमा कर तिर्नुपर्नुे, समयमा कर नबुझाउँदा जरिवाना बुझाउनुपर्ने, बिलविजकको व्यवस्थाका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईटेलले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविश्यमा आईपर्ने संकटको सामना गर्न सहज हुने दावी गरे । योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने उनको भनाई छ ।
कार्यक्रममा चौतारीका केन्द्रीय सदस्य कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्ले, केन्द्रीय सदस्य विष्णु पोखरेल, प्रदेश उपाध्यक्ष युवराज विवश, फाँट इञ्चार्ज मनकुमार गदाल, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, हिमशिखर टेलिभिजनका सञ्चालक ध्रुव न्यौपाने, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।
विगतमा एक प्रतिशत रहेको सामाजिक सुरक्षा कोष अहिले बढाएर ३१ प्रतिशत पुगेको छ । सहजकर्ताहरुसँग मिडिया सञ्चालक, पत्रकारहरु स्पष्ट हुन खोजेका थिए । मिडिया सञ्चालक र पत्रकारलाई सामाजिक सुरक्षा कोषका विषय बुझाउन यो कार्यक्रम आयोजना गरिएको प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोखरेलले जानकारी दिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।




Discussion about this post