मेचीनगर, ३१ साउन । वि.सं.२०१७ सालमा शिवको पत्थरको शिला राखेर सुरू गरिएको दुहागढीको शिव मन्दिरको अहिले रुपरंग फेरिएको छ । १४ नम्बर वडा कार्यालयको एकसय मिटर पूर्व सडक छेउमा उक्त मन्दिर रहेको छ ।
मेचीनगर–१४ स्थित दुहागढीको श्री शिव मन्दिरको वि.सं.२०१९ सालमा शिलान्यास गरिएको थियो ।
स्थानीय समाजसेवी स्व.विष्णुकुमार कार्कीले आफ्नै नेतृत्वमा मन्दिर सञ्चालनका लागि सानो समिति बनाएका थिए । कार्कीको निधन भएपछि अर्का समाजसेवी हरिप्रसाद घिमिरेले २०६८ सालदेखि २०८० साल सम्म शिव मन्दिरको नेतृत्व गरेका थिए ।
स्थानीय समाजसेवी स्व. ध्रुब श्रेष्ठको अगुवाइमा २०६१ सालमा मन्दिरमा शिवको मूर्तिको प्राण प्रतिष्ठा गरि स्थापना गरिएको थियो ।
२०८१ सालमा तीन वर्षे कार्यकालका लागि १३ जना कार्यसमितिमा २ जना सदस्य मनोनित गरेर १५ जनाको नयाँ कार्यसमितिको अध्यक्षमा चुडामणि सुवेदी आएपछि शिव मन्दिर समिति विधिवत रुपमा प्रसाशनमा दर्ता भएको छ । उनको कार्यकाल २०८३ सालमा सकिने छ ।
स्थानीय स्व.टेकेन्द्रकुमार खड्काले मन्दिर निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका थिए । मन्दिर परिसरमा ९ वटा स–साना भवनहरु छन् । ती सबै स्थानीय, नगरपालिका कार्यालय, वडा कार्यालय र विभिन्न दाताहरुको सहयोग भगवानका भवनहरु बनिएका छन् ।
अध्यक्ष सुवेदीका अनुसार मन्दिर परिसरमा सामुदायिक भवन, ज्येष्ठ नागरिकको भवन नगरपालिका र स्थानीयको सहयोग रहेको थियो । मुल समितिका सदस्य शान्तिराम कडरियाले भवन निर्माण समितिको संयोजकमा रहेर काम गरेका थिए । ज्येष्ठ नागरिक भवनको अध्यक्षमा भोला सुवेदी रहेका छन् ।
मन्दिरमा शिवको मूर्ति स्थानीयको सहयोगमा निर्माण भएको छ । मन्दिरको टायल्स, रेलिङ र त्रिशुल लगाउन बिर्तामोड निवासी पुन्यप्रसाद र कविता शिवाकोटीले सहयोग गरेका छन् ।
गणेशको मूर्ति स्थानीय दाता नैनाकला पनेरुले, दुईमुखे नन्दीका लागि दाता दिपिन काफ्लेले, राधाकृष्णको मूर्ति स्थानीय वडा नम्बर १४ की वडा सदस्य फुलकुमारी र उनका श्रीमान रमालाल राजबंशीले बनाइदिएको समितिले बताएको छ ।
त्यस्तै मन्दिर परिसरमा हनुमानको मूर्ति स्थानीय दाता भोला चौधरीले, होम कुण्ड समाजसेवी ध्रुब श्रेष्ठले र पुजारी आश्रम, एकमुखे नन्दी समितिले नै निर्माण गरेको छ । मन्दिरको रेखदेख र पुजारीका रुपमा सुदर्शन बराल रहेका छन् । उनलाई समितिले मासिक पारिश्रमिक दिएर राखेका छन् ।
लामो समयदेखि मन्दिर सञ्चालन र व्यवस्थापनमा खटिएका समितिका सदस्य कडरियाका अनुसार अक्षयकोषमा १६ लाख ११ हजार १०५ रुपैयाँ रहेको छ । त्यसैको व्याजबाट मन्दिर सञ्चालन र व्यवस्थापन गरिरहेको उनको भनाई छ । सचिव निरानन्द आचार्यले समितिमा २०० जना आजिवन सदस्यहरु रहेको बताएका छन् ।
शनिबार मन्दिर परिसरमा कृष्ण जन्माअष्मीका अवसरमा भक्तजनहरु भेला भएर पूजा, आरती गरिएको छ । महिलाहरुले तीजमिलन कार्यक्रम गरेर दर समेत खाएका थिए ।
मन्दिरकै शिवशक्ति भजन मण्डलीले आयोजना गरेको तीजमिलन कार्यक्रमकी अध्यक्ष कमला मिश्र विरामीका कारण उपाध्यक्ष उमा कार्कीको अध्यक्षता तथा प्रमुख अतिथिमा वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुब्बा, बालसुवोधिनि माविका प्रधानाध्यापक विश्व थापा, प्रगति महिला कृषि सहकारीकी अध्यक्ष गोमा ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण भजन मण्डलीकी रीना राजबंशी र मन्दिर समितिकी सहसचिव रञ्जु प्रसाई सुवेदीले संयुक्त रुपमा गरेकी थिइन् ।




Discussion about this post