मेचीनगर, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीको घरमा आगजनी र तोडफोड गरिएको छ ।
जेनजीका प्रदर्शनकारीहरुले झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद शर्माको मेचीनगर–९ स्थित धुलाबारीको घरमा आगजनी र तोडफोड गरेका छन् ।
त्यस्तै मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको घरमा पनि आगजनी र तोडफोड गरिएको छ । वडा नम्बर ९ र ६ नम्बरको वडा कार्यालयमा आगजनी गरिएको छ ।
यसैगरी, नेकपा एमाले र नेपाली कांग्रेसकाे क्षेत्रीय पार्टी कार्यालय, मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय तथा नगरपालिकाकाे एउटा गाडी समेतमा ताेडफाेड र आगजनी गरिएको छ ।
प्रदर्शनकारीले काेशी प्रदेशका सांसद गाेपाल तामाङ , सविना बजगाई, एमाले नेताहरू विष्णु प्रसाई, रविन काेइराला, श्रीप्रसाद मैनाली, नेकपा माओवादी केन्द्रका नेता राम कार्कीकाे घरमा पनि ताेडफाेड र आगजनी गरेका छन् ।
काँकरभिट्टा बजारमा विहान विरोध प्रदर्शन गरेका जेनजीका प्रदर्शनकारीहरुले सिधै नगरपालिका कार्यालय गएर तोडफोड गरेका थिए । प्रदर्शनकारीहरुले कार्यालयको भवनमा गेट अगाडिबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीहरुलाई ढुंगा बर्षाएका थिए । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको थियो ।
कार्यालयको झ्याल, ढोका, पर्खाल, गाडीका सिसाहरुमा तोडफोड गरेका थिए । प्रदर्शनकारीहरुले कार्यालयमा गएर नेपालको झण्डा समेत राखेका थिए । प्रदर्शनकारीहरु अहिले फेरि आएर नगरपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन गरेका छन् । प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भइरहेको छ ।
सरकारमा भएका दल तथा बाहिर रहेका प्रतिपक्षी दलका नेताहरुका घर तोडफोड र आगजनी गरिरहेको अवस्था रहेको छ ।
गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका छन् भने अन्य मन्त्रीहरुले आज धमाधम राजीनामा दिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ सर्वदलिय वैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएका छन् ।




Discussion about this post