झापा, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै राति सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
शीतलनिवास सम्वद्ध स्रोतका अनुसार कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो ।
आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै राष्ट्रपति पौडेल प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले राति ९ बजे शपथ गराउने तयारी छ ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको छ ।
राजनीति दलहरुले यही संसद्भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेनजीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन् ।
काठमाडौंका मेयर बालेन शाहले समेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए ।




Discussion about this post