जेनजी आन्दोलनले दशैंको उल्लास खल्लो देखिएतापनि यतिखेर गाउँ–शहर थोरै भएपनि गुल्जार बन्दै छ । यो चाँडले खासगरी हिन्दु नेपालीहरुलाई व्यस्त बनाउँछ । टीका, भेटघाट तथा पारिवारिक जमघटले पर्वको महत्व बेग्लै छ । तर, अझै पनि समाजका हरेक नागरिकलाई दशैंको उल्लासले छुन सकेको छैन । खासगरी हुने खाने र हुँदा खाने वर्गबीचको खाडल झन्–झन् गहिँरिदै गएको छ । गणतन्त्रमा विभेदको खाडल पुरिने आशा तीव्र छ । तर, अहिले सम्मको अभ्यासले त्यो आशा पनि व्यर्थ हुन्छ कि भन्ने खतरा पनि उत्तिकै छ ।
नेपालका धेरै ग्रामीण क्षेत्र छन्, जहाँ वर्षभरी अभावको पीडाले सताउँछ । अहिले पनी चामल, पारासीटामोल नपाएको पीडा भोगिरहेका नागरिकको पंक्ति पश्चिम पहाडमा बाक्लै छ । तर, शहरमा चिन्ता अर्कै छ । नयाँ नोट नपाएको तनावले जहिले शहरलाई सताइरहेको छ । दशैंमा उपभोगका लागि छान्ने विकल्प थोरै भएकोमा चिन्ता छ । एउटा सानो भूगोलमा देखिने यी बिल्कुल फरक दृश्यले देखाउँछन् । हामी विभेदको खाडल झन् गहिरो बनाउँदैछौं । उदेकलाग्दो त के छ भने, यो खाडल पुर्ने प्रयास कतैबाट भएको छैन ।
विभेदको यो विराट रुपलाई जुनसुकै सरकार आएपनि गुलिया नारा मात्र हुन्छ । यो मुलुकमा छ भनिएको ‘लोकतन्त्र’को चरम उपहास हो । ‘जनताको सर्वोच्चता’ छ भनिएको राजनीतिक पद्दतिमा त्यही नियति दोहोरिन दिनु हुँदैनथ्यो । तराईका निर्धन नागरिकलाई हरेक वर्ष बाढीले खेदाउँछ । कम्तीमा उनीहरुका लागि बलियो छानाको व्यवस्था राज्यले गरिदिनु पर्छ । ठूला उद्योगीहरुको माग चाँडै पूरा गर्ने सरकारले भोकाहरुको, पीडितहरुको आवाज सुन्दैन । जसका कारण ती नागरिकलाई न दशैंको रमझम, न तिहार, न इद, न छठको रमाइलो हुन्छ ।
निश्चय नै हजारौं वर्षको विभेद दश वर्षमा सकिन्न । परिवर्तन लामो प्रक्रिया हो, यो कुर्ने धैर्यता पनि चाहिन्छ । तर, यसको अर्थ भोक र रोगले पनि परिवर्तन पर्खिरहन्नन् । नागरिकले पैसा तिरेर पनि मल पाएका छैनन्, नागरिकले स्वास्थ्य केन्द्रले सित्तैमा दिन्छु भनेको औषधि पाएका छैनन् । मुलुकमा तीन तहको सरकार छ । स्थानीय, प्रदेश र प्रतिनिधि सभा । काम सोचे जस्तो भएको छैन् ।
जनताका आधारभूत समस्या पनि समाधान नहुने अवस्था लामो नजाओस् । राज्यको हरेक इमान्दार प्रयास जनताको खुशीको आधार बन्नसक्छ । भ्रष्टाचार र सुशासनको आन्दोलनले सरकार ढाल्ने तागत राख्छ, अहिलेका युवा पुस्ताले विभेदको पर्खाल भत्काउने हिम्मत गरे, धेरै निमुखा र शहीदका परिवारको आँशु रोक्न सकिन्छ । कम्तीमा गणतान्त्रिक राज्यले यत्ति महसुस गरिदिने हो भने हुँदा खाने वर्गले पनि चाँडपर्वको समयमा दिल खोलेर हाँस्न सक्ने थिए । यसपटकको दशैं खल्लो भएको छ ।
जेनजी आन्दोलनका कारण अनाहाकमा ७४ जनाको मृत्यु र धेरै घाइते भएका छन् । देश नै शोकमा छ । देश जलेको छ । मृत्युवरण गरेकाहरुप्रति भावपूर्ण श्रद्वाञ्जली र घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना । साथै, तीनका परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । यस्तो बेला उत्साह गर्नुको तुक पनि नहोला । जेहोस् आफ्नो परम्परालाई सामान्य ढंगले मनाएर यस पटकको दशैं सहज तरिकाले विदा गर्नुपर्छ । दशैंपछि आशा गरौँ अबका दिनहरु सुख, शान्ति र समृद्विको बनोस् शुभकामना ।




Discussion about this post