धुलाबारी, २७ कात्तिक । ज्यामिरगढी स्थित त्रिवेणी युवा क्लबले आयोजना गर्न लागेको प्रतिष्ठित ‘त्रिवेणी च्यालेञ्ज कप–२०८२’ फुटबल प्रतियोगिता आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ ।
क्लबले बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता पुनः सञ्चालनको मिति सार्वजनिक गरेको हो ।
यसअघि प्रतियोगिता असोज ३ गतेदेखि सुरु गर्ने तयारी थियो । तर देशभर फैलिएको ‘जेन- जेड आन्दोलन’ र त्यसले सिर्जना गरेको असहज राजनीतिक, सामाजिक परिस्थितिका कारण प्रतियोगिता स्थगित गर्नु परेको क्लबले जनाएको छ।
हाल देशको अवस्था सामान्य बनेको र खेलकुद वातावरण पनि सहज भएकाले पुनः मिति तय गरिएको क्लबका अध्यक्ष विदुरसिंह खवासले बताए ।
उनका अनुसार प्रतियोगिता मेचीनगर-१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयको खेल मैदानमा भव्य रूपमा आयोजना गरिने छ ।
´यो हाम्रो पहिलो औपचारिक फुटबल प्रतियोगिता हो,` उनले भने- ´यसबाट स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, फुटबल प्रतिभा निखार्ने र आपसी सद्भाव तथा एकताको सन्देश दिने हाम्रो उद्देश्य हो ।`
त्रिवेणी युवा क्लब, ज्यामिरगढी झापाको पुरानो र ऐतिहासिक क्लबका रूपमा परिचित छ ।
खेलकुद र सामाजिक गतिविधिमा सक्रिय यो क्लब केही समय निष्क्रिय भए पनि अहिले पुनः सशक्त रूपमा अघि बढ्न लागेको क्लबका सचिव मनिष विश्वकर्माले बताए ।
उनका अनुसार यो प्रतियोगिता क्लब पुनः शाखलाई जाेगाँउने एउटा महत्वपूर्ण मोड हुनेछ ।
क्लबले प्रतियोगितामार्फत युवामा नेतृत्व, अनुशासन र खेल भावना विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
साथै स्थानीयवासी, संघ-संस्था, विद्यालय, उद्योग–व्यवसायी र शुभेच्छुक सबैलाई प्रतियोगितामा सक्दो सहयोग र सहभागिताको लागि अनुरोध गरिएको छ।
त्रिवेणी युवा क्लब, ज्यामिरगढीले आफ्नो गौरवशाली इतिहास पुनः स्थापित गर्दै समुदायको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।




Discussion about this post