मेचीनगर, २६ कात्तिक । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध क्षमता अभिबृद्धि कार्यक्रम सुरु गरेको छ ।
बुधबार नगरपालिकाकाे महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा भाेलिसम्म हुने कार्यक्रममा नगरमा रहेका स्वास्थ्य स्वयमसेवीकाहरु सहभागी छन् ।
कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणमा स्वयम सेवीकाहरुको भूमिकाको बारेमा छलफल हुनेछ ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेतीले स्वस्थ्य स्वयमसेवीकाहरु हरेक नागरिकको घरदैलोमा पुगेर सेवा दिने भएकाले लैङ्गिक हिंसा न्यूनीकरणमा उनीहरुको महत्वपूर्ण भूमिका रहने बताइन् ।
प्रमुख अतिथि उप्रेतीले लैङ्गिक हिंसा महिलालाई गरिने हिंसा मात्र नभएर पुरुष तथा फरक क्षमता भएका व्यक्तिलाई गरिने विभेद, दमन र शोषण पनि भएको दावी गरिन् ।
उनले नगरपालिकाको न्यायिक समितिमा समेत लैङ्गिक हिंसाका थुप्रै उजुरी आउने बताउँदै आफूँहरुले फौजदारी मुद्धाबाहेक अन्य मुद्धाहरु हेर्ने र छलफल गरेर पीडितलाई न्याय दिने काम गरिरहेकाे बताइन् ।
मेचीनगरमा पुरुष हिंसाका घटनाहरु समेत न्यायिक समितिमा आउने गरेको उनले जानकारी दिइन् ।
उनका अनुसार नेपाली समाजमा ९५ प्रतिशत महिला हिंसाका घटना हुने गरेकोले लैङ्गिक हिंसालाई समेत महिला हिंसाको रुपमा समाजले बुझ्ने गरेको छ ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक हृदय राजबंशीेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई मनोपरामर्श कर्ता तथा कोशी प्रदेशकी रोष्टर ट्रेनर चण्डीका मोहरा र लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले प्रशिक्षण दिइरहकी छन् ।
विज्ञ उप्रेतीले सहभागीलाई लैङ्गिक हिंसा न्यूनीकरणको लागि खेल्नु पर्ने भूमिका, लैङ्गिक हिंसा सम्बन्धी एकीकृत परियोजनाको परिचय तथा आगामी कार्यक्रमको बारेमा जानकारी दिइन् ।
रोष्टर ट्रेनर मोहराले लैङ्गिक हिंसाका प्रकार र समाजमा त्यसले पार्न सक्ने असरका बारेमा जानकारी गराउँदै त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि सचेत नागरिकले खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।




Discussion about this post