मेचीनगर, १० मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले यसपटक तीन जना उत्कृष्ट प्रतिभाहरू छनौट गरेको छ ।
बुधबार प्रतिष्ठानले धुलाबारी स्थित नाङ्लो रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको हो ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले उत्कृष्ट प्रतिभा पुरस्कार अग्रज पत्रकार नकुल काजीलाई, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई दिने निर्णय गरेको छ ।
काजी झापाका वरिष्ठ पत्रकार हुन् । उनी भद्रपुर–८ निवासी हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।
त्यस्तै, ७० वर्षीय उत्कृष्ट गृहिणी राजबंशी मेचीनगर–७ स्थित मदनवस्ती निवासी हुन् । उनले १२२ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।
यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गर्नेछ । जसमा ९० वर्षीय हेमलाल र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित सम्मान गरिने अध्यक्ष बानियाँले जानकारी दिए । प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ वक्तित्वकला प्रतियोगिता समेत आयोजना गरेको छ ।
यहि मंसिर २० गते प्रतिष्ठानले बार्षीक साधारण सभामा प्रतिभाहरूलाई नगदसहित सम्मान गर्नेछ । तीनै जना उत्कृष्ट प्रतिभालाई नगद जनही ३१ हजारले पुरस्कृत गरिनेछ ।
कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको रहने छ । पत्रकार सम्मेलनको सहजीकरण प्रतिष्ठानका सदस्य भाष्कर शर्मा घिमिरेले गरेका थिए ।




Discussion about this post