धुलाबारी, ९ माघ । गतवर्ष जस्तै यसवर्ष पनि नन्दा करिडोर प्रर्वद्धन केन्द्र धुलाबारीले ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्न लागेको छ ।
आज केन्द्रले पत्रकार सम्मेलन गरेर सोका बारेमा जानकारी गराएको हो । यही माघ १५, १६ र १७ गते हुने दोस्रो पटकको ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ मा चार वटा जाति र दुई वटा संस्थाको जातिय स्टलमा विभिन्न परिकारका अर्गानिक खानेकुराहरु रहने छन् ।
केन्द्रका अध्यक्ष धर्मेन्द्र खड्काले किसान, राई, नेवार, मेचे समुदाय तथा शान्ति समाज महिला समूह र अतिथि हस्पिटालिटी÷धुलाबारी हस्पिटालिटी सोसाइटी (धुलाबारी मावि) को स्टलहरुमा रैथाने परिकारहरुको खानेकुरा विक्रीका लागि राखिने बताए ।
उनका अनुसार रैथाने परिकारमा किसान समुदायको झिंगे माछाको फ्राई, गंगटाको फ्राई, घुंगी झोल हालेको, पैयाँ माछाको फ्राई र सामुहिक किसान नित्य, राई समुदायको वाचीपा–कुखुराको मासु र भात, कोदोको जाँड (सगुनको रुपमा), कोदोको डिँडो, फिलुङ्गेको अचार र चण्डी नाँच रहने छ ।
त्यस्तै नेवार समुदायको यमरी–चामलको पिठो, बारा–कालो दालको रोटी, चटामरी–चामलको रोटी, छोइला–राँगाको मासु, नेवारी खाँजा सेट तथा चर्या–कुमारी नित्य, बज्र योगिनी, मञ्जुश्री, लाखे नाच, धिमे नाच र नेवारी सांस्कृतिक नित्य रहेको छ ।
यसैगरी मेचे समुदायको योङ खार्रइ–चामलको पिठो र मासु, बिथै, यख्रै–रक्तिको परिकार, लाफा फेल्खा–साँगको परिकार, नाफाम लादु–माछा धुलोको चट्नी, थाछो बाठन–कच्छुको अचार, यैस्था बाठन–बेलचनको अचार तथा बागरुम्बा, बारद, सिख्ला, बैसागु नित्यहरु रहेका छन् ।
यता शान्ति समाज महिला समूहको परिकारहरुमा सेलरोटी–कोदो र चामलको, कोदोको डिँडो, टमाटरको अचार, फापरको पकौडाको स्टलहरु रहने छन् ।
यस्तै अतिथि हस्पिटालिटी÷धुलाबारी हस्पिटालिटी सोसाइटी (धुलाबारी मावि) ले कोदोको केक, कोदोको ब्रेड र कोदोको सुपको स्टल रहने आयोजकको भनाई छ ।
अध्यक्ष खड्का अनुसार महोत्सवमा प्राचिन वस्तुहरुको खुल्ला प्रदर्शनी, खुल्ला चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्व सम्बन्धी प्यानल छलफल कार्यक्रमको प्रस्तोता अग्रज पत्रकार चन्द्र भण्डारीले गर्नेछन्, रेथाने खाना पाक् प्रतियोगिता, विभिन्न सांस्कृतिक नित्य, झाँकी प्रदर्शन र खुल्ला बुद्विचाल प्रतियोगिता रहने छ ।
महोत्सव सफल बनाउन सहयोगी संस्थाहरुका रुपमा मेचीनगर नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, ब्रिज एजुकेशन कन्सल्टेन्सी, टुरिजम फोरम झापा, रोटरी क्लब अफ मेचीनगर, चेतनशील युवा परिवार, शान्ति समाज र अतिथि हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी रहने छ ।
करिव ४ लाख खर्च अनुमान गरिएको रैथाने महोत्सवका लागि नगरपालिकाले २ लाख र पर्यटन कार्यालय कााकरभिट्टाले एक लाख ३३ हजार रुपैयाँ सहयोग गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
पत्रकार सममेलनका प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले रैथाने खानालाई पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पहिचान र प्रर्वद्धन गर्न यस महोत्सवले सहयोग पुर्याउने बताएका थिए ।
नन्दा करिडोर प्रर्वद्धन केन्द्र धुलाबारीका अध्यक्ष धमेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव निर्मलकुमार दाहालले गरेका थिए ।




Discussion about this post