काँकरभिट्टा, १० माघ । वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठले आजदेखि मेचीनगर लेडी जेसीजको बागडोर समालेकी छन् ।
शनिबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना भएको लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रममा उनले पदभार समालेकी हुन् ।
१२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले वर्ष २०२६ की अध्यक्ष श्रेष्ठलाई चेनसहित पद हस्तान्तरण गरेकी थिइन् ।
श्रेष्ठलाई यसअघि बार्षिक साधारण सभा तथा शाखा अधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । सभाले कार्यकारिणी उपाध्यक्षमा शर्मिला दाहाल तिम्सिना र नविना डाँगी, उपाध्यक्षहरुमा प्रमिला ओली, तेजकुमारी घिमिरे, सोनिका भट्टराई र सृजना घिमिरेलाई चयन गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले असल समाज निर्माण नभएसम्म देशको विकास नहुँने बताएका छन् ।
‘जेसीजले समाजको रुपान्तरण गर्न, नेतृत्व विकास र सकारात्मक कुरा सिकाउँछ’, बुढाथोकीले भने–‘समाजभित्र थ्रुपै वेथितिहरु छन् । घर–घरमा अनुशासन जरुरी छ । समाजलाई सुधार्न सबै जेसीज लगायत सबै सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरेर नगरपालिकाले अभियान चलाउने तयारी रहेको छ ।’
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, वर्ष २०२५ की अध्यक्ष सविता पोखरेल, वर्ष २०२६ की अध्यक्ष रिता श्रेष्ठ, समाजसेवी शुभद्रा भट्टराई अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा इष्ट होराइजन अंग्रेजी स्कुल धुलाबारीका नानीहरुले नित्य प्रस्तुत गरेका थिए ।
मेचीनगर लेडी जेसीज वर्ष २०२५ की महासचिव शर्मिला तिम्सिना र पूर्व अध्यक्ष उषा श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रमको स्वागत कार्यकारीणी उपाध्यक्ष सुनिता कोइरालाले गरेकी थिइन् ।




Discussion about this post