

बिर्तामोड, १८ माघ । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडले ‘क्यान्सर मुक्त भविष्यका लागि युवा’ सम्बन्धि वक्तृत्वकलामा निधि अंग्रेजी माविकी छात्रा सोफिया खड्का प्रथम भएकी छन् ।
क्यान्सर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार आइतबार वक्तृत्वकला प्रतियोगितामा बिर्तामोड स्थित निधिकी खड्का प्रथम भएकी हुन् ।
प्रतियोगितामा गोमेन्द्र बिर्ता मोडलकी योमुना निरौला दोस्रो र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी सदिक्षा अधिकारी तेस्रो भएकी थिइन् ।
उनीहरुले १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार बराबरको बीएण्डसी हस्पिटलमा उपचार सेवा पाउने छन् । साथै, प्रशंसापत्र र मेडलसहित सम्मान गरिएको थियो ।
वक्तृत्वकला प्रतियोगिताको जुरीको संयोजकका रुपमा प्राध्यापक रुद्रबहादुर थापा तथा सदस्यद्वयमा पत्रकार मोहन काजी र समाजसेवी सन्तोष अग्रवाल रहेका थिए ।
जुरीका संयोजक थापाले नतिजा घोषणा गरेका थिए । प्रतियोगितामा २५ जना विद्यार्थी मध्ये १० जना सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा.वीरेन्द्र यादवले ६ वर्षमा १५ हजारको क्यान्सरको उपचार गरेको बताए ।
६० प्रतिशत मानिसको जीवनशैली, खानपानका कारण र ४० प्रतिशत बंशाणुगतका कारण यो रोग लाग्ने गरेको उनको भनाई छ । उनका अनुसार यसमा ५० प्रतिशत सूर्तीजन्य तथा मादक पदार्थका कारण पनि हुने छ ।
जुरीका संयोजक थापा, सदस्य काजी, सदस्य अग्रवालले क्यान्सरबाट निराशा होइन, आशा जगाउँने समय भएको बताए । यो रोग उपचार पाउँदा सम्भव भएकोले बिर्तामोडमा नै उक्त सेवा पाइने भएकोले भारत तथा अन्य मुलुक धाउँनु नपर्ने उनीहरुको दावी छ ।
हस्पिटलका सम्पर्क अधिकारी प्रमिश गिरीले क्यान्सरका बारेमा गाउँ, समाजमा रोग लुकाएर बस्ने होइन र युवा विद्यार्थीहरुलाई सचेतना गर्न सके भोलीका दिनमा क्यान्सर मुक्त समाज निर्माण गर्न सकिने उदेश्यले वक्तृत्वकला लगायतका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । हस्पिटलले एक हप्ताभरी नै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गरिरहेको छ ।




Discussion about this post