बिर्तामोड, १९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप स्व.विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ ।
आज गाेल्डकपले सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो ।
यही माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा-११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए ।
प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ ।
दाेस्राे क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र पोखराको लालीगुराँस एशाेसिएशनबीच हुनेछ ।
तेस्रो क्वार्टर फाइनल खेल माघ २८ गते एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजले प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम क्वार्टर फाइनल खेल माघ २९ गते मछिन्द्र फुटबल क्लब र मलेसियाको एन पेनाङ फुटबल क्लबीच हुने महासचिव बुद्ध तामाङले जानकारी दिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन १ गते र दोस्रो सेमिफाइनल खेल फागुन २ गते हुनेछ ।प्रतियोगिताकाे फाइनल खेल फागुन ४ गते हुनेछ ।
विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले सात लाख ५० हजार रुपैयाँ पाउने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले बताए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउने छन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, र प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पाउनेछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
यसैतबीच, हिम इलेक्ट्रोनिक प्रालिको तर्फबाट बिर्तामोड स्थित महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एक जना भाग्यशाली दर्शकलाई एक थान ३२ इन्चको एलइडी टिभी उपलब्ध गराउने आयोजकले जनाएको छ ।




Discussion about this post